काठमाडौं। सरकारले चीनसँग सीमा विवाद नभएको दावी गरिरहँदा सीमाविद र नापी विभागकै अधिकारीहरुले केहि ठाउँमा अझै सीमा विवाद भएको बताएका छन्। परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति निकाली चीनसँग सीमा विवाद काँही नभएको बताए पनि दोलखाको ५७ नम्बर पिलरको विषय अझै टुंगिन नसकेको भने बताएन। जहाँ अझै पनि विवाद कायमै छ।
नेपाल र चीनबीच सिमानामा १ सय वटा पिलर विछयाइएका छन्, ती मध्ये दोलखाको ५७ नम्बर पिलरको विषयमा विवाद टुगिंएको छैन । ‘अहिले पनि नेपाल र चीनवीच ५७ नम्बर पिलरको विषयमा विवाद कायम छ’ सीमाविद् बुद्धिनारायण श्रेष्ठले भने, ‘नेपाल सरकारले ५७ नम्बर पिलरलाई विवादित पिलरको रुपमा चीन सरकारसँग कुरा उठाउँदै आएको छ।’
५९ वर्ष अघि नेपाल र चीनवीच सहमति हुँदा ५७ नम्बर पिलर ढुंगामा राखिएको थियो । तर अहिले उक्त पिलर नेपालले दावी गरेको भन्दा फरक ठाउँमा देखिएको छ । सन् १९८९ मा दोश्रो पटक नेपाल र चीनवीच सीमा अध्ययन हुँदा उक्त पिलर देखिएन । तर तेश्रो पटक स्न २००५मा नेपाल र चीनवीच सीमा अध्ययन हुँदा पिलर देखियो तर पहिलेको ठाउँमा देखिएन । पानी ढलोको सिद्धान्त अनुसार माथिल्लो भागमा पिलर हुनु पर्ने नेपालको दावी छ तर अहिले देखिएको ५७ नम्बर पिलर माथिल्लो भागभन्दा केही वर आएको छ ।‘ त्यसैले अहिले देखिएको ठाउँमा नेपालको सीमा क्षेत्र हुँदैन भन्ने हाम्रो दावी हो,’नापी विभागका एक प्राविधिक भन्छन् ।
चीनको सीमानमा राखिएका पिलरमध्ये सोलुखुम्बुको ६२ नम्बर पिलर ढलेको अबस्थामा भेटिएको छ। यसैगरी गोरखाको ३७ र ३८ नम्बर पिलर नक्सामा देखाइएको छ, फिल्डमा विछाइएको छैन । करिब १ हजार ४ सय १४ किमि सीमा जोडिएको चीनसँगको सीमानाको विषयमा भने त्यती चर्चा हुदैन । चर्चा भएपनि त्यसलाई सरकार नै केहि नभएको भन्दै प्रतिरक्षामा उत्रिन्छ।
प्रत्येक दश वर्षमा नेपाल र चीनवीचको सीमाको अध्ययन र निरिक्षण गर्ने सहमति भएको छ। तर १५ वर्षदेखि नेपाल र चीनवीच सीमाको अध्ययन र निरिक्षण हुन सकेको छैन । चीनसँगको सीमाको अध्ययन र निरिक्षण गर्न नेपाल सरकारले पनि चासो देखाएको छैन । सीमाको विषयमा नेपाली र चिनीयाँ प्राविधिकहरूको पछिल्लो बैठक सन् १०१२मा भएको थियो, त्यसपछि बैठक नै बस्न सकेको छैन ।
सीमाको विषयमा सहमति गर्न नेपाल र चीनबीच १९६० मार्च २१ मा सीमा सम्झौता भएको थियो । सम्झौता पछि करिब डेढ वर्षसम्म नेपाल र चीनका प्राविधिक टोलीहरू संयुक्त रूपमा काम गरेका थिए । दुई पक्षका प्राविधिकहरू काम पूरा गरे पछि नेपाल र चीनवीच सन् १९६१ अक्टोबर ५ मा दुई सीमा सन्धि भयो । उक्त सन्धिमा नेपालको तर्फबाट राजा महेन्द्र र चीनबाट राष्ट्रपति ल्यु साओचीले हस्ताक्षर गरेका थिए ।
नेपाल र चीनवीच सीमा सम्झौता हुँदा प्रत्येक दश वर्षमा नेपाल र चीनवीच सीमाको अध्ययन र निरिक्षण गर्ने सहमति भएको थियो । उक्त सहमति अनुसार सन् १९७९मा पहिलो पटक नेपाल र चीनीयाँ प्राविधिकहरू नेपाल–चीन सीमाको अध्ययन र निरिक्षण गरेका थिए । दोश्रो पटक सन् १९८९मा गरे । तेश्रो पटक सन् २००५मा सीमा निरिक्षण गरिएको थियो । त्यस यता नेपाल र चीनवीच सीमा क्षेत्रको निरिक्षण तथा अध्ययन हुन सकेको छैन।