arrow

सरकारी अनुमानविपरित नेपाल भित्रियो सलह किरा, बालीमा पुर्‍याउन थाल्यो क्षति

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असार १३ शनिबार
salaha-locust.jpg

काठमाडौं । सरकारी अनुमान विपरित सलह (फट्यांग्रा जस्तो) किरा नेपाल भित्रिएको छ । करिब एक वर्ष अघि पाकिस्तानमा देखिएको सलह किरा केही महिना अघि भारतका राजस्थान लगायतका राज्यमा देखिएको थियो । धान बाली लगायतका कृषिबालीमा पसेपछि ठुलै नोक्सान गर्ने उक्त किरा नेपाल नभित्रिने अनुमान सरकारले गरेको थियो ।

सरकारले गत जेठ १३ गते प्राविधिक कार्यदल गठन गरी उक्त किराको नेपाल प्रवेशको सम्बन्धमा अध्ययन गरेको थियो । उक्त कार्यदलले जल तथा मौसम विज्ञान विभाग र विश्व खाद्य तथा कृषि संगठनका विज्ञहरुसँग परामर्श गरी तयार पारेको प्रतिवेदनमा सलह किराले नेपाल प्रवेश नगर्ने निष्कर्ष निकालेको छ । तर, सरकारको यस्तो अनुमानविपरित कार्यदल गठन गरिएको ठ्याक्कै एक महिना पछि (असार १३) सलह किरा नेपालका विभिन्न जिल्लामा देखा परेको छ ।

कृषि तथा पशुपन्छि विकास मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार बारा, पर्सा, सिन्धुली, रुपन्देही लगायतका जिल्लामा शनिबार बिहानै सलह किरा देखा परेको छ । ‘शनिवार बिहान सलह किराले नेपाल प्रवेश गरेको र बारा, पर्सा, सिन्धुली, सर्लाही, रुपन्देही लगायतका जिल्लामा यसको उपस्थिति देखिएको जानकारी प्राप्त भएको छ’ मन्त्रालयका सहसचिव हरिबहादुर केसीले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सहसचिव केसीका अनुसार उक्त किराको नेपाल प्रवेशको संख्या, फैलावटको क्षेत्रफल लगायतका विषयमा जानकारी लिन कृषि तथा पशुपन्छि विकास मन्त्रालयले प्राविधिकहरु परिचालन गरिसकेको छ ।

ठुलो संख्यामा समुहमा आवतजावत गर्ने उक्त किराले बालीमा पसेपछि बाली सखाप पार्ने बताइएको छ । गत वर्ष पाकिस्तानमा बालीमा क्षति पुर्याएपछि पाकिस्तानले चीनबाट हाँस ल्याएर उक्त किराबाट बाली जोगाउने प्रयास गरेको थियो । पाकिस्तानको प्रयास धेरै हदसम्म सफल पनि भएको थियो ।

हाँसले उक्त किरा खाने भएकाले किराले बाली सखाप गर्नबाट जोगिन्छ। प्राविधिकहरुका अनुसार हावाको वेगसँगै पश्चिम दिशाबाट पूर्वदिशातर्फ उड्ने विशेषता उक्त किराको छ। सोही अनुसार सलह पाकिस्तानबाट केही महिना अघि मात्रै भारतमा आएको आंकलन गरिएको छ ।

किरा भारतमै हुँदा नेपाल सरकारले बाली जोगाउनका लागि आवश्यक तयारी नगरी नेपालमा प्रवेश नै नगर्ने प्रतिवेदन बनाउँदा नेपाली किसानले लगाएको धानबालीमा ठुलो क्षति बेहोर्ने सम्भावना देखिएको छ । यद्यपि उक्त किराले बालीमा गर्ने सम्भावित आक्रमणबाट बचाउन भने सकिन्छ ।

यसरी सुरक्षित गर्न सकिन्छ सलहको आक्रमणबाट
उक्त किराको आक्रमणबाट हुने सम्भावित क्षतिबाट सुरक्षित राख्नका लागि किसान स्वयंमले आफ्नो बालीको वरिपरि र माथिबाट झुल लगाएर बाली घेर्दा किराले बालीमा आक्रमण गर्न नसक्ने भारतीय सञ्चार माध्यममा प्रकाशित विभिन्न लेखहरुमा उल्लेख छ । त्यस्तै किसानले बाली (जस्तै धान)का पातहरुमा खरानी छर्कदा पनि किराले आक्रमण गर्न सक्दैन । किसानले थाल ठटाएर, हल्ला गरेर किरालाई धपाएमा बालीमा हुने सम्भावित क्षतिबाट बाँच्न सकिन्छ ।



लोकप्रिय समाचार
नयाँ