arrow

प्रधानमन्त्रीको सरकारी निवास पार्टी अखडा बनेपछि नेकपाका नेताहरु नै असन्तुष्ट 

logo
प्रकाशित २०७७ असार १४ आइतबार
ncp-sthi-committee.jpg

काठमाडौं । हरेक चिजको एउटा सीमा हुन्छ । तर त्यो सीमा तोडिँदै गएपछि त्यसले निम्त्याउने नतिजा भयावह हुन सक्छ । अहिले प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले त्यही प्रवृत्ति अपनाइरहेका छन् । 

नेकपा स्थायी कमिटि बैठक बालुवाटारमा चलिरहँदा फेरि एक पटक सरकारी निवासको दुरुपयोग गरेको चर्चा चलिरहेको छ । 

अचम्म त के भने प्रधानमन्त्री ओली अस्वस्थ्य भएको भन्दै हरेक बैठक र कार्यक्रमहरु बालुवाटारमा गर्न थालिएको छ । तर प्रधानमन्त्री ओली उपस्थित नभएपछि नेकपाभित्रै पनि निराशा छाउन थालेको छ । 

गत बुधबारदेखि सुरु भएको नेकपा स्थायी कमिटि बैठकको पहिलो दिन ओलीले अन्य नेताहरुमाथि आरोप–प्रत्यारोप गरे । तर शुक्रबार उनी उपस्थित नै भएनन् । 

पर्यटन मन्त्री एवं स्थायी कमिटि सदस्य योगेश भट्टराईले ‘बालुवाटारमै बैठक बसेपछि उहाँ यहीँ भएको सम्झनुस्’ भनी प्रतिक्रिया दिएका थिए । 

अर्का स्थायी कमिटि सदस्य डा भीम रावलको विचार स्पष्ट छ । उनी भन्छन्, ‘प्रधानमन्त्री ज्यूको स्वास्थ्यलाई ख्याल गरेर बैठक बालुवाटार बसेका हौं, यदि उहाँ बैठकमा नआउने हो भने पार्टी कार्यालय धुम्बाराहीमै बैठक बसौं ।’

लावल लगायतका थुप्रै नेताको चाहना पार्टीका गतिविधि धुम्बाराहीबाट संचालन होउन् भन्ने छ । यसमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि राजी छन् । वरिष्ठ नेता झलनाथ खनाल पनि राजी छैनन् । माधवकुमार नेपाल पनि राजी हुने कुरै भएन । तर ओलीको स्वास्थ्यका अगाडि सबै विवश छन् । 

तर ओली बैठकमै उपस्थित नहुँदा भने नेताहरु निराश छन् । उनीहरु प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीलाई आफ्नो विचार सुनाउन चाहन्छन् । तर ओली नै उपस्थित हुन्न् । 

शनिबार पनि उनी एकैछिन बसेर स्वास्थ्यको कारण देखाउँदै बैठकबाट बाहिरिएका थिए । नेताहरु आलोचना सुन्न नसकेर ओली बैठकमा नबस्ने गरेको पनि बताइरहेका छन् । 

अब अर्को बैठक मंगलबार (असार १६ गते) गते बालुवाटारमै बस्दैछ । 
 
भएकै हो बालुवाटारको दुरुपयोग ? 
बालुवाटार सरकारको सम्मानित स्थल हो । तर त्यसलाई दुरुपयोग गर्ने क्रम बढेको छ । विपक्षी दलका नेताहरुदेखि लिएर राजनीतिक विश्लेषकहरु बालुवाटारलाई प्रधानमन्त्री ओलीले पार्टीको आन्तरिक दाउपेचको अखडा बनाएको आरोप लगाउँछन् । 

त्यतिमात्र होइन फजुल खर्च नगर्न चेतावनी दिइरहने तिनै प्रधानमन्त्री ओलीले बालुवाटारमा विभिन्न कार्यक्रम, भेला र भोज–भतेर गरेर आर्थिक रुपमा पनि राज्यलाई दोहन गरिरहेको स्पष्टै छ । 

ती कार्यक्रममा हुने खर्च र भोजभतेरको खर्चको हिसाबकिताब छैन । दिनानुदिन बालुवाटारमै हुने पार्टीका बैठकको खर्च धुम्बाराहीले हैन राज्यले तिर्ने गरेको छ । 

कति खर्च छ भन्ने कुराको हिसाबसमेत छैन । 
                                          
२०७५ जेठ ३ गते राष्ट्रिय सभागृहमा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गरेपछि सरकारी निवास बालुवाटारमा केन्द्रीय कमिटीको पहिलो बैठक १० गते बसेको थियो । त्यसयता चार दर्जनबढी बैठक बालुवाटारमै बसेका छन् । त्यतिमात्र हैन सबैभन्दा ठूलो केन्द्रीय कमिटि बैठक पनि बालुवाटारमै बसेको थियो । 

बालुवाटारमा प्रधानमन्त्री ओलीको वंश भेला पनि भयो । उनको सारंगी मोहको कार्यक्रम पनि त्यहीं भयो । अनि थुप्रै सम्मान कार्यक्रम बालुवाटारमै भए । 

पटक पटक पार्टीकादेखि अन्य कार्यकर्ताका भोज पनि त्यहीं हुने गरेका छन् । आखिर यो कहिलेसम्म ? 



लोकप्रिय समाचार
नयाँ