काठमाडौं । गत २४ घण्टामा देशैभरि ११२ जना महिला र ३६४ पुरुष गरी कूल ४७६ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म एक हजार ५८६ महिला र ११ हजार ६६२ गरी जम्मा १३ हजार २४८ जना संक्रमित भएका छन् ।
नेपालका ७७ वटै जिल्लामा फैलिएको कोभिड–१९ बाट हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।
मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले भने, “हाल काठमाडौँ उपत्यकालगायत घनाबस्ती भएका शहरमा कोभिड–१९ को संक्रमण वृद्धि भएकाले दुई मिटरको दूरी कायम गर्न, मास्क प्रयोग गर्न र साबुनपानीले मिचीमिची हात धुन, अत्यावश्यक काम नपरी घरबाट बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालय अपिल गर्दछ ।”
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पतालका निर्देशक डा विष्णुप्रसाद शर्माले कोरोना लागेको छ कि भन्ने डरले घरमै बस्नुभन्दा पनि समयमै परीक्षण गर्न आग्रह गरे ।
साथै २४ घण्टामा कोभिड–१९ बाट संक्रमित १२१ जना सोमबार निको भई ‘डिस्चार्ज’ भएका छन् । हालसम्म २६६ महिला र दुई हजार ८६६ पुरुष गरी जम्मा तीन हजार १६४ जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना निको भएर डिस्चार्ज हुनेको संख्या दुई हजार ८३४ जना पुगेको छ ।
विगत २४ घण्टामा २२ वटा प्रयोशालामा सात हजार ७९१ जनाको पिसिआर विधिबाट नमूना परीक्षण भएको जानकारी दिनुभयो । एक हजार ८२२ जनाको आरडिटी परीक्षण गरिएको छ । तीन हजार ६८५ जनाको आरडिटी परीक्षण गरिएको छ । क्वारेन्टिनमा रहेका व्यक्तिको संख्या ५७ हजार ३६८ पुगेको छ । आइसोलेशनमा रहेका संक्रमित व्यक्तिको संख्या १० हजार ८५ रहेको छ ।