काठमाडौं । चीनले हङकङका लागि विवादित नयाँ सुरक्षा कानुन पारित गरेको छ । बेइजिङस्थित चिनियाँ संसदले हङकङको लामो समयदेखिको विवादित कानुन पारित गरेको हो ।
उक्त नयाँ कानुन जुलाई १ (बुधबारदेखि) लागु गर्ने पनि बताइएको छ । हङकङ बेलायतबाट चीनलाई हस्तान्तरण गरिएको जुलाई १ का दिन पर्ने २३ औं वर्षगाँठदेखि लागु हुने चिनियाँ सचारमाध्यमहरुले जनाएका छन् ।
सन् १९९७ मा बेलायतबाट चीनले हङकङलाई लिएको थियो ।
अलगाव, विध्वंस, आतंकवाद वा विदेशी सेनासँगको सहकार्य लगायतमा प्रतिबन्ध लगाउने सहितको राष्ट्रिय सुरक्षा कानुन चिनियाँ संसदले सर्वसम्मतिले पारित गरेको हो ।
राष्ट्रिय पिपुल्स कांग्रेसको स्थायी समितिले मंगलबार बिहान अनुमोदन गरेको कानुन अनुसार उक्त कानुन उल्लंघन गरे लामो समय जेल सजायँ भोग्नु पर्ने बीबीसीले लेखेको छ ।
चीनले भने अझै यो विधेयक पास भएको बारेमा आधिकारिक जानकारी दिएको छैन ।
कानून अनुमोदन अगाडी हङकङबाट त्यहाँ प्रतिनिधित्व गर्ने सीमित प्रतिनिधिलाई मस्यौदा हेर्न दिइएको जनाइएको छ ।
यही कानुनको विषयलाई लिएर हङकङमा गत वर्ष लामो समयसम्म बिरोध चर्किएको थियो । जनस्तरबाट नेतृत्वलाई सत्ता छाड्न समेत चुनौती आएको थियो ।
तत्कालीन अवस्थामा चिनियाँ सरकार हङकङ सरकारलाई दवाव दिनबाट पछाडि समेत परेको थियो ।