काठमाडौं । राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघले केपी शर्मा ओली नेतृत्वको सरकारको कदमप्रति घोर आपत्ति जनाएको छ ।
प्रेस विज्ञप्ति जारी गर्दै संघले संविधानले दिएको अधिकारसमेत यो सरकारले खोस्ने काम गरेको भन्दै आपत्ति जनाएको हो ।
भनिएको छ, ‘हालसालै मात्र संसदको राज्य व्यवस्था तथा सुशासन समितिले निजामति कर्मचारी सम्बन्धी विधेयक परिमार्जन गरी निजामति कर्मचारी भर्नामा अपांगता भएका व्यक्तिहरुले पाउँदै आएको आरक्षणको ५ प्रतिशत कोटा छुट्याइएको मा कटौती गरी समग्रमा ४ प्रतिशतमा सीमित गर्दा यसले अपांगता भएका व्यक्तिहरुको रोजगारमा निकै ठूलो संख्यामा अन्तर हुने र अपांगता भएका व्यक्तिहरुको रोजगार खोसिने अवस्था आएको छ ।’
संघले सरकारका यस्ता हर्कत प्रति घोर आपत्ति प्रकट गरेको छ । उसले अपांगता भएका व्यक्तिहरुको सेवा तथा सुविधाहरु खोस्ने हैन थप बढाउन सरकारसंग जोडदार माग गरेको छ ।
उसले भनेको छ, ‘यदि हाम्रा यी सवाललाई सुनुवाइ भएन भने सरकार विरुद्ध कडा भन्दा कडा आन्दोलन गर्न वाध्य हुनेछौं ।’