काठमाडौं। नेपाल अटो मोबाइल एसोसियसन (नाडा)ले विगत ३ वर्षयता नेपालमा अटोमोबाइल (सवारी साधन) क्षेत्रको व्यापार खस्केको बताएको छ। एसोसिएसनका अध्यक्ष कृष्ण दुलालले विगत ३ वर्षयता अटोमोबाइल क्षेत्रको व्यापार खस्केको बताए। सरकारले सवारी कर्जामा कडाई गरेकै कारण अटोमोबाइल क्षेत्रको कारोबारमा कमी आएको दुलालले बताए। ‘विगत ३ वर्षयता अटो बजार खस्केकै थियो नि’ उनले भने, ‘अहिले कोरोना भाइरसको महामारी रोक्न गरिएको लकडाउनले व्यापार शुन्य छ। केही दिन पछाडी खुल्छ कि भन्ने आशा मात्रै हो।’
अहिले लकडाउन अलिकति खुकुलो भएपछि अनलाईनबाट कारोबार गर्ने व्यवसायीहरुले अनलाइन कारोबार गरिरहेका र सार्वजनिक सवारी खुलेपछि अटो व्यापारमा पनि सुधार आउने आशा रहेको दुलालले बताए। विगतमा बैंकहरुले दिँदै आएको अटोलोनको कारण सवारी साधनको व्यापार राम्रो हुने गरेकोमा पछिल्लो तीन वर्षयता अटोलोनमा गरिएको कडाईका कारण खस्केको नाडाका पदाधिकारीहरु बताउँछन्।
चालु आर्थिक वर्ष २०७६/०७७को मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले बैंकहरुले अटोलोन ५० प्रतिशत मात्रै दिन पाउने व्यवस्था गरेपछि अटोमोबाइलको कारोबार झनै खस्केको नाडाको भनाई छ।
चालु आवको मौद्रिक नीतिमार्फत सवारी साधन खरिदका लागि ५० प्रतिशत मात्रै लोन दिने र ५० प्रतिशत डाउन पेमेन्ट गर्नैपर्ने व्यवस्था गरेपछि आधा भन्दा बढीले कारोबार खस्केको थियो। त्यसमाथि कोरोना भाइरस संक्रमण फैलिन नदिन गरिएको ३ महिना लामो लकडाउनका कारण अटोमोबाइलको कारोबार लगभग शुन्यप्राय छ।
खस्केको अटो व्यवसायको कारोबार उकास्नको लागि आगामी आर्थिक वर्ष २०७७/०७८को बजेटमा स्पष्ट व्यवस्था गरिएको छैन। बजेट वक्तव्यमार्फत सरकारले ५० अर्बको छुट्टै कोष खडा गर्ने र पुनःकर्जा कोष १ खर्बको पुर्याउने घोषणा गरेपनि अटो व्यवसायीका लागि तोकेरै कुनै व्यवस्था नगरिएको व्यवसायीको गुनासो छ।
३ वर्षयता प्रभावित अटो क्षेत्रको कारोबार कोभिडका कारण झनै प्रभावित बनेको र त्यसलाई उकास्ने गरी आगामी मौद्रिक नीति आउनुपर्ने नाडाका पूर्वअध्यक्ष समेत रहेका सुजुकी हुण्डाई ब्राण्डका आधिकारिक विक्रेता अञ्जन श्रेष्ठले बताए। ‘आगामी मौद्रिक नीतिबाट सबै व्यवसायीले खोजेको कर्जाको ब्याजको पुनरावलोकन हो। कर्जाको ब्याजदर घटाइदिनु पर्छ। पुनःकर्जामा हेरिदिनु पर्यो’ श्रेष्ठले हाम्राकुरा डटकमसँग भने, ‘झण्डै ९० दिन बन्द भएर बल्ल व्यवसाय खुलेका छन्। सावाँ ब्याज तिर्नको लागि समयको पुनर्तालिका गरिदिनु पर्यो। ब्याज तिर्ने समय दिनु पर्यो।’
बजारमा सवारी साधनको माग वृद्धि गर्ने कार्यक्रम मौद्रिक नीतिमा आउनु पर्ने श्रेष्ठले बताए। ‘मौद्रिक नीतिले सवारी साधनको माग वृद्धि गर्नलाई सहयोग गरिदिनु पर्यो’ उनले भने, ‘त्यसको लागि अटोलोनमा नाडाले दिएको सुझाव अनुसार हुनु पर्ने हाम्रो माग हो।’
त्यस्तै अटो व्यवसायलाई उकास्ने गरी मौद्रिक नीति आउनेमा आफुहरु ढुक्क रहेको नाडाका अध्यक्ष दुलालले पनि बताए। ‘बजेटमार्फत सम्बोधन नभएका समस्या अब सामाधान हुन्छ भन्नेमा हामी ढुक्क छौं’ दुलालले हाम्राकुरा डटकमसँग भने, ‘हामीले गभर्नरलाई भेटेर केही सुझाव दिएका छौं। गभर्नरले सकारात्मक कुरा गर्नु भएको छ।’
दुलालका अनुसार नाडाका पदाधिकारीहरुले गभर्नर महाप्रसाद अधिकारीलाई सवारी कर्जाको सीमा ९० प्रतिशतसम्म पुर्याउन र डाउनपेमेन्ट १० प्रतिशत राख्ने गरी मौद्रिक नीतिमा व्यवस्था हुनुपर्ने सुझाव दिएका थिए। त्यस्तै लोनमा व्याजदर समेत न्युन राख्ने गरी मौद्रिक नीतिमा व्यवस्था हुनुपर्ने नाडाको सुझाव थियो। ‘लगानी सहज गरिदिने, लोनको किस्ता तिर्ने पुनर्तालिका (समय बढाउने) गरिदिने र ब्याज घटाउनुपर्ने भनेर सुझाव दिएका छौं’ दुलालले थपे, ‘एकदम सकारात्मक कुरा आएको छ गभर्नरबाट। सबै कुरा गर्छौं भन्नु भएको छ।’
निकै गिरावट आएको अटोमोबाइल क्षेत्रको कारोबारलाई उकास्ने गरी मौद्रिक नीति आउनुपर्ने जानकारहरुले पनि बताएका छन्। नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले बजेटमा गरिएका व्यवस्था बाहेकका क्षेत्रलाई समेत कोरोनाले प्रभाव पारेको र ती क्षेत्रका समस्या पनि सम्बोधन गर्नेगरी आगामी मौद्रिक नीति आउनुपर्ने बताए।
साना तथा मझौला उद्यमलाई राहत दिनेगरी सरकारले बजेटमार्फ ५० अर्बको छुट्टै कोष खडा गर्ने घोषणा बजेट मार्फत गरेको छ। त्यस्तै कृषि, उत्पादनमुलक उद्योग, पर्यटन क्षेत्रलाई राहत दिनका लागि पुनःकर्जा कोष १ खर्ब पर्याउने घोषणा बजेट मार्फत गरेको छ। ‘कोरोनाको प्रभाव ती क्षेत्रमा मात्रै छैन। ती क्षेत्र बोहकका अन्य क्षेत्र पनि प्रभावित छन्’ थापाले भने, ‘सबै क्षेत्रलाई समेट्नेगरी आगामी मौद्रिक नीति आउनु पर्छ।’
आगामी मौद्रिक नीति निर्माणमा लागेको नेपाल राष्ट्र बैंकले पनि कोरोना प्रभावित सबै क्षेत्रलाई समेट्ने गरी मौद्रिक नीति ल्याइने बताएको छ। राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले प्रभावित सबै क्षेत्रलाई समेट्ने गरी मौद्रिक नीति ल्याइने बताए। ‘प्रभावित अटो मोबाइल क्षेत्र लगायत सबै क्षेत्र समेट्ने गरी मौद्रिक नीति आउने छ’ उनले भने, ‘अहिलेसम्म त साउन पहिलो साता मौद्रिक नीति ल्याउने भन्नेमै छौं।’