arrow

हात्ती नियन्त्रणका लागि जङ्गलमै केराखेती

logo
प्रकाशित २०७७ असार १७ बुधबार
Elephant-1-750x500.jpeg

झापा । झापाको मेचीनगर–९ स्थित थोप्लेबिरान सामुदायिक वनले हात्ती नियन्त्रणका लागि जङ्गलभित्रै फलफूलका विरुवा रोप्न थालेका छन् । 

स्वादिलो आहारले पेट भर्न पाएपछि जङ्गली हात्तीले अन्नको बालीमा क्षति नगर्ला भन्ने आशाले सामुदायिक वनले जङ्गलभित्रै हात्तीको खान्कीका लागि फलफूलका विरुवा रोप्न थालेका हुन् ।

विगत तीन दशकयता झापाको मेचीनगरमा जङ्गली हात्तीबाट सबैभन्दा धेरै जनधन र बालीको क्षति भएको छ । हात्तीले वर्षेनि लाखौँ मूल्यको धनमालसँगै मानवीय क्षतिसमेत पुर्‍याउँदै आएकाले त्यसको नियन्त्रणका उपाय अवलम्बन गर्न सामुदायिक वनको अग्रसरतामा पहिलो चरणमा केराका विभिन्न जातका तीन हजार विरुवा रोपिएको हो ।

थोप्लेबिरान सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कृष्ण कोइरालाले वन क्षेत्रभित्र र हात्ती प्रवेश गर्ने सम्भावित गौडामै फल पाकेपछि टाढासम्म मगमगाउने मालभोगलगायतका केराको विरुवा रोपिएको बताए। हरेक उपभोक्ताले दुई वटा केराका विरुवा हुर्काउनै पर्ने नियम बनाइएको छ ।

दैनिकजसो आउने जङ्गली हात्तीले गाउँ पसेर किसानले लगाएको र घरमा थन्क्याएको अन्नबाली खाएर दुःख दिन थालेपछि हात्तीलाई जङ्गलमै अलमल्याउने उपायस्वरुप बनभित्र केरा खेती गरिएको जनाउँदै अध्यक्ष कोइरालाले यसले हात्तीबाट हुने क्षति रोकिने अपेक्षा गरिएको बताए। 

सो सामुदायिक वनमा १९० हेक्टर क्षेत्रफल रहेको छ भने ५१० घर परिवार उपभोक्ता छन् । वनभित्र हात्तीको आहारका लागि चिनीचम्पा, जहाजी, मालभोग र अँठिया जातको केराका विरुवा रोपिएको छ । हात्तीले आहारका लागि केराको गुभो र फल अति मन पराउँछ । यसअघि वन समितिले हात्ती नियन्त्रणकै लागि भनेर वनभित्र १० हेक्टर क्षेत्रमा बाँस लगाएको थियो । तर बाँसघारीले हात्ती रोकिएनन् । 

“वनमा खानेकुरा नहुँदा हात्ती गाउँ पस्छ भनेर विज्ञहरुले बारम्बार बताउँदै आउन्ुभएको छ”, अध्यक्ष कोइरालाले भने, “जङ्गलभरी केराखेती गरेका छौँ, अब चाहीँ आहार खोज्दै हात्ती गाउँ पस्दैनन् कि भन्ने हाम्रो विश्वास छ ।” 

अर्को चरणमा अरू प्रजातिका फलफूलसमेत वनमा हुर्काउने समितिको योजना छ । जङ्गलमा रहने बाँदर, चरालगायतका जीवहरुलाई समेत ती फलफूल आहारा बन्नेछ ।



लोकप्रिय समाचार
नयाँ