arrow

विज्ञ भनिएका अर्थमन्त्री यस पटक पनि असफल, विकास बजेट ३३ प्रतिशत मात्रै खर्च

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असार १७ बुधबार
finance-minister-yubaraj.jpg

काठमाडौं। केपी शर्मा ओली नेतृत्वको मन्त्रीमण्डलका विज्ञ अर्थमन्त्री डा. युवराज खतिवडा बजेट कार्यान्वयनमा यसपटक पनि असफल देखिएका छन्। चालु आर्थिक वर्ष २०७६/०७७ समाप्त हुन करिब दुई हप्ता मात्रै बाँकी रहँदा राजश्व संकलन र बजेट खर्च दुई तिहाई पनि पुर्याउन नसक्दा खतिवडा यसपटक पनि बजेट कार्यान्यनमा असफल देखिएका हुन्।

सरकारको बजेट कार्यान्वयनको स्थितिलाई नेपाली काँग्रेसले बजेट कार्यान्वयनमा सन्तुलित  भएर सरकारले कार्यान्वयन गर्न नसकेको टिपण्णी गरेको छ। नेपाली काँग्रसका नेता तथा छाँया अर्थमन्त्री मिनेन्द्र रिजालले सरकारले बजेटमा आम्दानी र खर्चमा सन्तुलन मिलाउन नसकेको कारण अर्थतन्त्रमा समस्या देखिने बताए। ‘मोटो बजेट ल्याऔं। सबैको साझा बजेट ल्यायौं भनेर मैले भनेको थिए, सरकारले मानेन’ रिजालले भने, ‘अहिले सरकारको आम्दानी भन्दा खर्च बढी भएको तथ्यांङ्कले नै देखाउँछ। सरकारले सन्तुलित भएर बजेट कार्यान्वयन गर्न सकेको भए यस्तो हुने थिएन। बजेट कार्यान्वयनको पाटो हेर्दा सरकार असफल नै भयो।‘

दुई तिहाई पनि पुगेन राजश्व संकलन
चालु आर्थिक वर्ष सकिन दुई हप्ता मात्रै बाँकी रहेको अवस्थामा मंगलबारसम्म सरकारले ६ खर्ब ९८ अर्ब ४८ करोड ५ लाख रुपैयाँ राजश्व संकलन गरेको छ। उक्त संकलन गरिएको  राजश्व लक्ष्यको ६२ दशमलव ८१ प्रतिशत मात्रै हो। चालु आर्थिक वर्ष २०७६र०७७ मा कुल ११ खर्ब १२ अर्ब ३ करोड ३२ लाख रुपैयाँ राजश्व संकलन गर्ने सरकारी लक्ष्य रहेको छ। अहिलेकै स्थितिमा लक्ष्य अनुसारको बाँकी राजश्व संकलन गर्न अबको दुई हप्तामा करिब करिब असम्भव जस्तै देखिन्छ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार सरकारले करमार्फत ६ खर्ब ३१ अर्ब ६४ करोड ४ लाख रुपैयाँ र गैर करमार्फत ६६ अर्ब ८४ करोड १ लाख रुपैयाँ राजश्व संकलन गरी ६ खर्ब ९८ अर्ब ४८ करोड ५ लाख रुपैयाँ राजश्व संकलन गरेको हो।

दाताले नपत्याउँदा अनुदान आएन
त्यस्तै चालु आर्थिक वर्षको बजेटको स्रोतको रुपमा ५७ अर्ब ९९ करोड ५५ लाख रुपैयाँ अनुदान प्राप्त गर्ने सरकारी लक्ष्य रहेको थियो। तर, लक्ष्यको २८ दशमलव ६८ प्रतिशत मात्रै  अनुदान प्राप्त भएको महालेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ। मंगलबारसम्म सरकारले १६ अर्ब ६३ करोड ४५ लाख रुपैयाँ अनुदान प्राप्त गरेको महालेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ। दाताले सरकारलाई विश्वास नगरेका कारण नै लक्ष्य अनुसार अनुदान प्राप्त गर्न नसकेको हो।

बजेट खर्च पनि न्युन
त्यस्तै चालु आर्थिक वर्षको बजेट खर्च मंगलबारसम्म कुल बजेटको ६१ दशमलव ८१ प्रतिशत मात्रै खर्च भएको छ। चालु आर्थिक वर्षमा १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँ बजेट खर्च गर्ने सरकारी लक्ष्य रहेकोमा मंगलबारसम्म ९ खर्ब ४७ अर्ब ५८ करोड ७४ लाख रुपौया मात्रै खर्च गरिएको छ। आर्थिक वर्ष सकिन दुई हप्ता मात्रै रहेकोमा अवस्थामा बाँकी खर्च गर्न नसकिने देखिन्छ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार चालुतर्फको खर्च ७४ दशमलव ९६ प्रतिशत खर्च भएको छ। चालुगततर्फ कुल ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमा मंगलबारसम्म ७ खर्ब १७ अर्ब ४१ करोड ११ लाख रुपैयाँ खर्च गरिएको छ।

त्यस्तै विकासका योजनाहरुमा खर्च गरिने पुँजीगत तर्फको बजेट भने ३३ प्रतिशत मात्रै खर्च गरिएको छ। आर्थिक वर्ष सकिन दुई हप्ता मात्रै बाँकी रहेको अवस्थामा पुँजीगततर्फको बजेट ३३ दशमलव ३५ प्रतिशत खर्च गरिएको हो। कुल ४ खर्ब ८ अर्ब ५९ लाख रुपैयाँ पुँजीगततर्फका लागि विनियोजन गरिएकोमा मंगलबारसम्म १ खर्ब ३६ अर्ब ६ करोड १५ लाख  रुपैयाँ मात्रै खर्च गरिएको महालेखा नियन्त्रकको कार्यालयले जानकारी दिएको छ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार वित्तीय व्यवस्थातर्फ ५६ प्रतिशत खर्च भएको छ। कुल १ खर्ब ६७ अर्ब ८५ करोड ९८ लाख रुपैयाँ वित्तीय व्यवस्थातर्फ विनियोजन गरिएकोमा मंगलबारसम्म ९४ अर्ब ११ करोड ४८ लाख रुपैयाँ खर्च गरिएको छ।



लोकप्रिय समाचार
नयाँ