काठमाडौं। झुटा विल विजक बनाएर राजश्व चुहावट गर्ने ३ जना विरुद्ध सरकारले मुद्दा दायर गरेको छ। झुटा विलविजक बनाएर राजश्व चुहावट गर्ने विभिन्न फर्म तथा व्यक्ति विरुद्ध सरकारले ४० करोड ६१ लाख रुपैयाँ विगो दावी गर्दै पाटन अदालत र सरकारी वकिलको कार्यालय ललितपुरमा मुद्दा दायर गरेको हो।
राजश्व अनुसन्धान विभागले बुधबार दायर गरेको मुद्दामा ४० करोड ६१ लाख रुपैयाँ विगो असुल सहित र विगोको दोब्बर जरिवाना र कैद सजायको माग गरिएको छ।
राजश्व अनुन्धान विभागका अनुसार झुटा विल विजक प्रयोग गरी राजश्व छली गर्नेमा काठमाडौंका न्यु सागर प्लाष्टिक कन्सर्नका प्रोप्राइटर सञ्जु किजु, सुप्रिंम प्लाष्टिक कन्सर्नका प्रोप्राइटर सागर किजु तथा बिकोई स्काई बंगलामुखी जेभीका सञ्चालक साझेदार रोशन कुमार श्रेष्ठ रहेका छन्।
उनीहरु तीनै जना विरुद्ध क्रमशः २६ करोड ८२ लाख, ५ करोड ७७ लाख तथा ८ करोड १ लाख रुपैयाँ विगो दावी गर्दै मुद्दा विगोको दोब्बर जरिवानासहित कै सजायको माग गर्दै विभागले मुद्दा दायर गरेको हो। विभागले किजु विरुद्ध पाटन अदालत र श्रेष्ठ विरुद्ध सरकारी वकिलको कार्यालय ललितपुरमा मुद्दा दायर गरिएको जनाएको छ।
उनीहरु तीनै जनाविरुद्ध वस्तु तथा सेवाको खरिद नै नगरी झुटा विलविजक जारी गरेर कारोबार गर्ने गरेका कारण मूल्य अभिवृद्धि कर र आयकर समेतको राजश्व चुहावट गरेको देखिएको राजश्व अनुसन्धान विभागले जनाएको छ।
यसअघि विभागले गत जेठ ११ मा भारत कर्नाटकाका एक जना विरुद्ध ४ करोड रुपैयाँ र जेठ १७ मा सिलगुडीका एक जना विरुद्ध १ करोड रुपैयाँ राजश्व छलीको आरोपमा क्रमशः उच्च अदालत हेटौंडा र जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेको थियो ।