काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा बिहीबार राति ड्रामा भएको छ । सात खेलअघि नै उपाधि जितिसकेको लिभरपुलले दोस्रो स्थानको म्यान्चेस्टर सिटीसंग ४–० गोलको लज्जास्पद हार बेहोरेको हो ।
सिटीको इत्तेहाद स्टेडियममा भएको खेलमा सिटीको शानदार प्रदर्शनमा मद्धत गर्ने क्रममा केभिन डी ब्रुईनी, रहिम स्टर्लिङ, फिल फोडिनले एक एक गोल गरे । लिभरपुलले एक आत्मघाती गोल हानेको थियो । एलेक्स च्याम्बरलिनले आत्मघाति गोल गरेका हुन् ।
यो खेललाई ड्रामाकै रुपमा लिइएको छ । गत साता चेल्सीले म्यान्चेष्टर सिटीलाई हराएको थियो । दोस्रो स्थानका लागि संघर्षरत सिटीले यो शानदार जित पाएपछि भने दोस्रो स्थान लगभग पक्का पारेको छ ।
यो खेल नै सिटीका लागि जारी सिजनको सबैभन्दा महत्वपूर्ण र सम्झनयोग्य खेल बनेको छ ।
३० वर्षपछि उपाधि जितेर हौसिएको लिभरपुललाई यो हार भने सधैभर बिझ्ने हार बनेको छ ।
उपाधि जितिसकेको लिभरपुलको ३२ खेलबाट ८६ अंक छ । सिटीको ६६, तेस्रो लेस्टरको ५५, चेल्सीको ५४, म्यान्चेस्टर युनाइटेडको ५२, वुल्भरह्याम्पटनको ५२, शेफिल्ड युनाइटेडको ४७ अंक रहेको छ ।
शेफिल्डले बिहीबार रातिको खेलमा टोटनह्याम हट्सपरलाई ३–१ गोल अन्तरले हरायो ।
साविक विजेता सिटीले लिग विजेता लिभरपुलमाथि फराकिलो जित निकाल्दै राहतको महशुश गरेको छ । दोस्रो स्थानको सिटीको ६६ अंक छ । उपाधि विजेता लिभरपुलको ८६ अंक छ ।