काठमाडौं । अमेरिका र ब्रजिलमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना भाइरसका संक्रमितहरु फेला परेका छन् ।
बिहीबार अमेरिकामा २४ घण्टामा ५७ हजार २३६ जना संक्रमित भेटिएका छन् । यो अमेरिकाको लागि ६ महिनाकै अवधिमा सबैभन्दा बढी हो । कोरोना नियन्त्रण हुनुको सट्टा सबैभन्दा बढी संक्रमित देखिएका हुन् ।
अहिलेसम्म अमेरिकामा २८ लाख ३७ हजार १८९ जना संक्रमित पुगेका छन् । मृतक ६८७ बढेका छन् । अहिलेसम्म अमेरिकामा १ लाख ३१ हजार ४८७ जनाको ज्यान गइसकेको छ ।
अमेरिकामा खुलापन बढी भएका कारण पनि संक्रमित बढेको बताइन्छ । टेक्सास सरकारले त त्यहाँ मास्क लगाउन अनिवार्य नै गरेको छ ।
टेक्सास गभर्नर ग्रेग एबोटले सर्वसाधारणलाई मास्क लगाउन निर्देशन नै दिएका छन् । बुधबार मात्रै टेक्सासमा ८ हजार भन्दा बढी कोरोना संक्रमित देखिएका थिए ।
अमेरिकामा पछिल्लो महिना र्याली, दंगा र मोजमस्तीमा अमेरिकीहरु लागेपछि संक्रमण बढेको बताइन्छ ।
दोस्रो स्थानमा ब्रजिल रहेको छ । ब्रजिलमा बिहीबार सबैभन्दा बढी ४७ हजार ९८४ जना संक्रमित थपिएका छन् । ब्रजिलमा पनि दिनानुदिन संक्रमित बढ्दै गएका छन् ।
ब्रजिलमा अहिलेसम्म १५ लाख १ हजार ३५३ जना संक्रमित पुगेका छन् । मृतक १ हजार २७७ जना बढेका छन् ।
अहिलेसम्म ६१ हजार ९९० जनाको ज्यान गइसकेको छ ।