प्रधानमन्त्री ओलीको समर्थनमा बुटवलमा प्रदर्शन, नेकपाकै नेतालाई भारतीय दलालको संज्ञा
नारायण वली,
प्रकाशित २०७७ असार १९ शुक्रबार
70
Shares
रुपन्देही। प्रदेश–५ को अस्थायी मुकाम बुटवलमा शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली सरकारको समर्थनमा ओली पक्षका तत्कालिन नेकपा एमालेका कार्यकर्ताहरुले प्रदर्शन गरेका छन् । अपरान्ह ४ बजे बुटवलको मिलनचोकबाट शुरु भएको विरोध जुलुसमा वर्तमान सरकारको वचाउ गरिएको थियो।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी वैठकमा प्रधानमन्त्री ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने बहुमत सदस्यहरुले दवाव दिएपछि प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओलीका समर्थकहरुले बुटवलमा प्रदर्शन गरेका हुन् ।
जुलुसमा उपस्थित नेपाल कम्युनिष्ट पार्टीका तत्कालिन नेकपा एमाले, प्रधानमन्त्री ओली पक्षधरले प्रधानमन्त्रीको राजीनामा माग्ने नेकपाकै नेताप्रति इंगित गर्दै भारतीय दलालको संज्ञा दिए । समर्थकहरुले प्रधानमन्त्री ओलीलाई हटाउन खोजे परिस्थिती नराम्रो हुने चेतावनी दिएका थिए ।
भारतीय मतियार होसियार, अस्थिरता हामीलाई चाँहिदैन, सरकार ढाल्न पाईदैन, नागरिकता वितरण कडाई गर र लिम्पियाधुरा, लिपुलेक, कालापानी, केपी ओली हुन् फर्काउनी लगायतका नाराहरु लगाएका थिए ।
बुटवल तत्कालिन नेकपा एमालेको गढ मानिए पनि उल्लेख्य रुपमा जुलुसमा सहभागी देखिएनन्। कोणसभामा नेकपाका नेताहरु नर वहादुर घर्ती, धुव्र आचार्य र कमल गौतम लगायत वोलेका थिए ।