arrow

आफ्नो क्षेत्रमा पहिरो गएपछि गोकर्ण विष्टले के गरे ?

logo
प्रकाशित २०७७ असार २० शनिबार
gokarna-bista1.jpg

गुल्मी । इस्माको मल्दीमा गएको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण घाइते भएका पाँच जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको छ । 

पहिरोमा परी घाइते भएका इस्मा –१ का पाँच वर्षीय  अयुष खत्री,  ६४ वर्षीय  टीकाबहादुर खत्री, ९०  वर्षीया पुतली खत्री, २२ वर्षीया सिर्जना सारु र  २५ वर्षीय वसन्त सारुलाई गुल्मी क्षेत्र नम्बर २ का सांसद गोकर्ण विष्टले उपचारका लागि सेनाको हेलिकप्टरमार्फत शुक्रबार काठमाडौँ ल्याएका हुन्। 

सांसद विष्ट पहिरो प्रभावित क्षेत्रको समेत निरीक्षण गरी शुक्रबारै  फर्कएका थिए । उनले पहिरामा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना र  घाइतेको स्वास्थ्यलाभको कामना  गरेका थिए।  

बिहीबार राति १२  बजे बस्तीदेखि पाँच सय मिटर माथिबाट पहिरो खस्दा इस्मा– १ मल्दीका १८ महिने सिजन सारु र निस्ती ढाँडफाँटकी सात वर्षीया  अपेक्षा खत्रीको ज्यान गएको छ ।  त्यस क्षेत्रका ११६ घरपरिवार विस्थापन भएको गाउँपालिका उपाध्यक्ष विमला खत्रीले बताए । 

पहिरोसँगै निस्ती खोलामा आएको बाढीले बगाउँदा मुसिकोट नगरपालिका २ का ५५ वर्षीय भागीरथ घिमिरे बेपत्ता छन् ।  उनको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले जानकारी दिए । 

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले घाइतेको उद्धार गरेका थिए । शव परीक्षणका लागि सदरमुकाम तम्घास ल्याइएको छ ।  पहिरोबाट विस्थापितलाई स्थानीय पालिकाले हस्तिचौरको हिमालय माध्यमिक विद्यालयमा अस्थायी रुपमा व्यवस्थापन गरेको छ । सिङ्गो गाउँमा नै पहिरोको जोखिम बढेसँगै त्यस वरपरका मानिससमेत थप त्रसित बनेका छन् । 

पहिराले सडक अवरुद्ध भएकाले मानिसलाई हिँडडुल गर्नसमेत समस्या भएको  छ ।  जिल्ला विपद् व्यवस्थापन समितिले पहिरो प्रभावित क्षेत्रमा हेलिकप्टरमार्फत राहत सामग्री पठाएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए । 



लोकप्रिय समाचार
नयाँ