arrow

अनलाइन करातेमा नेपाललाई ४ स्वर्ण, ३ रजत र ३ कास्य 

logo
प्रकाशित २०७७ असार २० शनिबार
karate.jpg

काठमाडौं । आईएसकेयु ईन्टरनेशनल अनलाईन काता च्याम्पियनसिपमा नेपालले ४ स्वर्ण पदक प्राप्त गरेको छ । नरहरिपुर कराते डोजो, मच्छेगाँउ, चन्द्रागीरी ९ की सञ्जु देसारले महिला क्याडेट ईभेन्ट्समा स्वर्ण हात पारिन् । 

उनले श्रीलंकाकी एसएभी देभमिनी डि सिल्भालाई पराजित गर्दै स्वर्ण प्राप्त गरेकी हुन् । यस्तै ७ वर्ष मुनिको स्पर्धामा आयोजक भारतका सात्विक खेतानलाई पराजित गर्दै नेपालका प्रशन्न घर्ती मगरले नेपालका लागि स्वर्ण हात पारे । 

८ बर्ष मुनिको स्पर्धामा सत्कार घर्ती मगरले स्वर्ण हात पारे । उनले श्रीलंकाका थरुशा लकमललाई पराजित गरेका थिए ।

यसैगरी महिला १० वर्ष मुनिको स्पर्धामा दिक्षा महताराले स्वर्ण जितिन् । उनले ईरानकी साबा रोहीलाई पराजित गरेकी थिइन् ।

ईन्टरनेशनल सोतोकान कराते युनाईटेड (आईएसकेयु) र ईन्स्टिच्युट अफ सोतोकान कराते युनाईटेड (आईएसकेयु) को संयुक्त आयोजनामा भएको च्याम्पियनसिपमा नेपालका खेलाडीहरुले ३ रजत पनि हात पार्न सफल भएका छन् ।

रजत हात पार्ने खेलाडीहरुमा पुरुष क्याडेट तर्फ मनिष कार्की रहेका छन् । यस्तै महिला ९ बर्ष मुनिको स्पर्धामा स्वेता तामाङ र १३ बर्ष मुनिको समूहमा श्रृजना महताराले रजत प्राप्त गरे ।

२ जुलाईदेखि संचालन भएको च्याम्पियनसिपमा ९ वर्ष मुनिको पुरुष स्पर्धामा मुकेश खड्का, १० बर्ष मुनिका स्पर्धामा ओन्तो घर्ती मगर र १३ बर्ष मुनिको स्पर्धामा अमृत थोकरले कास्य पदक प्राप्त गरे ।

च्याम्पियनसिप ५ जुलाईसम्म संचालन हुने प्रशिक्षक एवं खेलाडी रविन्द्र मानन्धरले जानकारी गराएका छन् ।

मानन्धरले सद्गुरु मास्टर्स अनलाईन कराते काता च्याम्पियनसिप २०२० मा नेपालका लागि रजत पदक हात पार्न सफल भएका थिए ।



लोकप्रिय समाचार
नयाँ