काठमाडौं । भारतको उत्तर प्रदेशस्थित कानपुरका कुख्यात अपराधी विकास दुबेको घरमा कानपुर प्रशासनले डोजर चलाएको छ ।
बिहीबार अबेर राति दुबेलाई पक्राउ गर्न गएको प्रहरीमाथि बिकरु गाउँमा दुबेका समर्थकले चारैतिरबाट घेरेर हमला गरेका थिए । कानपुरको चौबेपुरमा भएको उक्त भिडन्तमा डीएसपीसहित ८ प्रहरीको मृत्यु भएको थियो ।
शहीद भएका प्रहरीको बदलामा कानपुर प्रशासनले शनिबार कुख्यात अपराधी दुबेको घरलाई डोजरले भत्काएर कारवाही सुरु गरको हो ।
प्रशासनको ठूलो टिमले बिकरु गाउँ पुगेर दुबेको घर भत्काउन सुरु गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले शुक्रबार नै घटनाका अपराधीमाथि तीव्र कारवाही गर्न आदेश दिएका थिए ।
अहिले विकासलाई पक्राउ गर्न परै उत्तर प्रदेशमा १०० भन्दा बढी टिम परिचालन गरिएको छ । गएको २४ घन्टादेखि हरेक क्षेत्रमा खानतलासी सुरु भएको र विकासका आफन्तसँग पनि सोधपुछ थालिएको छ ।
प्रदेश सीमामा नाका सिल गरेर प्रशासनले विकासको खोजतलास सुरु गरेको भारतीय मिडियाले उल्लेख गरेका छन ।
पुलिसले १२ जनालाई हिरासतमा लिइसकेको छ । विकासलाई लिएर नेपालको बोर्डरमा समेत अलर्ट जारी गरिएको छ ।
विकास भएको क्षेत्रबाट एक सय २० किलोमिटरमा नेपाल सीमा पर्दछ । सीमामा समेत विकासको तस्वीर टाँसिएको बताइएको छ ।
पुलिसले विकासले आत्मसमर्पण गर्न सक्ने आशंका पनि गरेको छ । विकासले अदालतमा आत्मसमर्पण गर्न निवेदन दिनसक्ने बताइएको छ । सबै जिल्लामा प्रहरीले अलर्ट समेत जारी गरिसकेको छ ।