केपी ओलीबाट सरकार चल्दैन, मुलुक बन्दैनः प्रदिप पौडेल
हरि पन्त,
प्रकाशित २०७७ असार २१ आइतबार
102
Shares
पोखरा। नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले जे काम गर्दा पनि कमिशन खाने, जनताको स्वास्थ्यमाथि खेलवाड गर्ने र भ्रष्टाचारमा आफूलाई लिप्त बनाउने राजनीतिक दलको नेतृत्वबाट मुलुक बन्न नसक्ने बताएका छन् ।
गिरिजा प्रसाद कोइरालाको जन्मजयन्तीको अवसर पारी जीपी कोइराला फाउण्डेशन कास्कीले शनिबार पोखरामा आयोजना गरेको कार्यक्रममा नेता पौडेलले वर्तमान ओली नेतृत्वको सरकार एक दुई जनाको प्रयासले गिर्न नलागेको भन्दै उनी आफ्नै कारणले गिर्ने अवस्थामा आएको स्पष्ट पारे।
दल विभाजन अध्यादेश, कुटनैतिक मर्यादा विरुद्धको अभिव्यक्ति लगायत प्रधानमन्त्री ओलीको हठ अहंकार लगायतका आफ्नै कारणले सरकार ढल्ने अवस्थामा पुगेको उनले बताए ।
नेकपाले दुई तिहाइ बहुमत प्राप्त गर्दा पनि मुलुकका लागि केही काम गर्न नसकेको भन्दै नेता पौडेलले यसैबाट नेकपाले मुलुकका लागि काम गर्न सक्दैन भन्ने पुष्टि भएको स्पष्ट पारे ।
माओवादीले संघीयता चाहेको या नचाहेको, एमाले लोकतान्त्रिक पार्टी हो या होइन भन्ने कुरा चिनियाँ कम्युनिष्ट पार्टीले नेकपाका कार्यकर्तालाई दिएको प्रशिक्षणबाट प्रष्ट भएको बताए ।
नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीमा मुलुक चलाउने क्षमता नभएको भन्दै यस्तो संकटमा पनि राजनीतिक विवाद निम्त्याउनु विडम्वना भएको बताए ।
कांग्रेसको निरन्तरको दवाव पछिमात्रै नेपालको नक्सा जारी भएको नेता पौडेलले बताए । ओलीको नेतृत्वमा नक्सा जारी भए पनि अब जमीन फिर्ता नहुँदै प्रधानमन्त्रीले भारतसंग निरन्तर निहु खोजिरहेको बताए ।
नेता पौडेलले गिरिजाप्रसाद कोइरालाको अभाव नेपाली राजनीतिमा अहिले पनि खड्किरहेको भन्दै कोइराला जत्तिको नेता अब मुलुकले पाउन नसक्ने ठोकुवा गरे । ‘गिरिजा प्रसाद कोइराला र सुशील कोइराला नभएको भए, उहाँहरूको हृदय ठूलो नभएको भए यो मुलुक कुन र कस्तो हालतमा हुन्थ्यो त्यो हामीले कल्पना गर्न सक्दैनथ्यौं’, उनले भने ।
कार्यक्रममा पूर्व सांसद शारदा पौडेल, कास्की कांग्रेसका सभापति कृष्ण केसी, कांग्रेस नेता वीरेन्द्र नारायण विजुक्छे, प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल, फाउण्डेशनका अध्यक्ष यादवराज अधिकारी, सचिव मोतीराज तिमिल्सिना लगायतले बोलेका थिए ।
कार्यक्रममा प्रेस युनियनमा आवद्ध पत्रकारहरूलाई प्रेस ज्याकेट वितरण गरिएको थियो ।