arrow

आत्महत्याप्रति उदासिन सत्ता

logo
शंकर खैराली,
प्रकाशित २०७७ असार २१ आइतबार
suside.jpg

काठमाडौं। कोरोना संगसंगै यतिबेला आत्महत्याका समाचारले पनि मिडियामा राम्रै स्थान पाइरहेको देखिन्छ। लकडाउनको अवधिलाई ‘फोकस’ गरेर प्रस्तुत गरिएका ती समाचारहरु पढनेहरुका लागि पनि सनसनीपूर्ण र डरलाग्दा हुने गरेका छन् ।

पछिल्लो समय लकडाउनको अवधिमा प्रदेश ५ मा मात्रै ३८० जनाले आत्महत्या गरेको तथ्य बाहिर आएको छ । उसो त चैत ११ गते लकडाउन भएयता असार ६ सम्ममा देशभर १४ सय ९८ जनाले आत्महत्या गरिसकेको तथ्यांक नेपाल प्रहरीसँग छ। आजको दिनसम्म आइपुग्दा यो अंक अझै बढेको छ ।

हो लकडाउनको अवधिमा सहरभन्दा गाउँमा हुनेखानेभन्दा हुँदा खाने, किसान, मजदूर बेरोजगारहरुले बढी आत्महत्या गरेको तथ्यांकले देखाउँछ । 

‘तर आत्महत्याको कारण लकडाउन मात्रै होइन’, भन्छन् मनोविद गोपाल ढकाल । चितवनमा खान नपाएर आत्महत्याको प्रयास भएको, गाडीको किस्ता तिर्न नसकेर आत्महत्या गरेको समाचार आएका विषयमा मनोविद ढकाल भन्छन, ‘ऋण लाग्दैमा, प्रेममा वियोग हुँदैमा कसैले आत्महत्या गरिहाल्दैन । अन्य दीर्घरोग, दम, मुटु रोग भएकाहरुको कोरोना संक्रमण भएपछि जसरी मृत्यु भयो त्यसरी नै आत्महत्याको मूल कारण मानसिक समस्या हो ।’

ढकाललाई सुन्ने हो भने आत्महत्या एउटै कारणले हुँदैन । अनेक कारणहरुको सम्मिलन भएको अवस्थामा आत्महत्याको अवस्थासम्म मान्छे पुग्छ । तर कोरोना महामारी र लकडाउनको अवस्थामा गत वर्षभन्दा समग्रमा एक प्रतिशत आत्महत्या बढेको उनले बताए ।

गत वर्षभरी देशभर ५ हजार ७५४ जनाले आत्महत्या गरेको तथ्यांक हेर्दा दैनिक १६ जनाले आत्महत्या गरेको तथ्यांक छ । तर लकडाउनको अवधिको आत्महत्यालाई हेर्ने हो भने त्यो संख्या दैनिक १७ जनाभन्दा बढी पुगेको मनोविद ढकालले बताए । 

बालबालिका बढी
आत्महत्याको पछिल्लो अवस्थालाई हेर्दा समग्र आत्महत्या भन्दा बालबालिकाको आत्महत्याको अवस्था चिन्ताजनक भएको मनोविद ढकालले बताए । अघिल्लो वर्ष भरी देशभर २८५ जना बालबालिकाले आत्महत्या गरेकोमा यो वर्ष भने लकडाउनको अवधिमा मात्रै १७० जना बालबालिकाले आत्महत्या गरेको तथ्यांक छ । ‘यो भने चिन्ताजनक हो,’ ढकालले भने, ‘महामारी, विपत्ति र अझ घरमै साँघुरिएर बस्नु परेको यो अवस्थामा अभिभावक मात्र होइन राज्य मानसिक स्वास्थ्यमा निकै संवदेशील हुनुपर्ने हो, त्यो देखिएन ।’

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नै कोरोना महामारीको समयमा मानसिक स्वास्थ्य झन संवेदनशील भएकाले त्यसतर्फ ध्यान दिन चेतावनी दिए पनि नेपाल सरकार भने यसप्रति थोरै पनि चिन्तित देखिँदैन । 

कोरोना महामारीको समयमा क्वारेन्टिन व्यवस्थापन, आइसोलनसनको प्रयाप्तता, संक्रमितको उचित परीक्षणभन्दा सरकार सत्ता खिचातानी र अनियमितताको गन्धमै रुमल्लिनुले कोरोना महामारी नियन्त्रणमै सरकार उदासिन देखिएको अवस्था छ । 

‘विपदको बेला जनताको ठूलो भरोसा राज्यप्रति हुन्छ,’ मनोविद ढकालले भने, ‘राज्यले त कोरोनाकै चेकजाँच पनि प्रयाप्त गर्न नसकेको गुनासो छ । यसले जनतामा झन निरासा बढाउँछ ।’ 

मनोविद ढकालका अनुसार सामान्य अवस्थामा पनि मानसिक स्वास्थ्यमा विशेष ध्यान दिनु राज्यको दायित्व हो तर यस्तो विपदको समयमा त अनिवार्य नै हो । ‘विपदको बेला जनतालाई विशेष परामर्श जरुरी हुन्छ । अझ क्वारेन्टिनमा बस्ने, आइसोलेसनमा उपचार गर्ने र संक्रमितको सम्भावना भएकालाई त परामर्शको औधि खाँचो हुसक्छ,’ मनोविद ढकालले भने ।

राज्य उदासिन भए के हुन्छ ?
मानसिक स्वास्थ्य, मनोपरामर्श र जनताको मनोबल उच्च बनाउने मामलामा त बर्तमान ओली सरकारले शून्य कदम चालेको छ । जसको परिणाम शुक्रबार मात्रै बझाङमा एक जना कोरोना संक्रमित युवकको आत्महत्यालाई लिन सकिन्छ । 

भारतबाट आएर जेठ १९ देखि क्वारेन्टिनमा बस्दै आएका उनको पिसिआर रिपोर्ट बिहीबार पोजेटिभ आएपछि आत्महत्या गरेको खप्तड छान्न गाउँपालिका अध्यक्षले नै बताए ।  उनको आत्महत्याको प्रमुख कारण कोरोनाको रिपोर्ट भन्दा पनि उनलाई मनोपरामर्शको अभाव भएको विश्लेषण गर्छन मनोविद ढकाल। 

मानसिक रुपमा कमजोर, पुरानो मानसिक समस्या, महामारीको त्रास र घरभित्रै साँघुरिएर बस्नुपर्दाको अवस्थामा मनोपरामर्श निकै आवश्यक हुने ढकालको भनाइ छ । ‘तर राज्यले कोरोना परीक्षण पनि प्रयाप्त नगरेको गुनासो छ,’ उनले भने, ‘मानसिक स्वास्थ्यको पाटोमा सरकारले सोचेकै देखिएन ।’

मिडिया पनि सजग हुन जरुरी
एक जनाको आत्महत्याले १३५ जनामा प्रभाव पार्ने मान्यता छ । मनोविद ढकाल आत्महत्याको समाचारलाई सनसनीपूर्ण बनाउन नहुने बताउँछन्। त्यसो गरेमा आत्महत्या बढाउनमा मिडियाको भूमिका पनि छ भन्ने आरोप खेप्नुपर्ने हुन्छ ।  

‘भारतीय अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्यालाई जसरी सनसनीखेज बनाइयो त्यसको परिणाम अर्को आत्महत्या भयो,’ मनोविद ढकालले भने, ‘ऋण तिर्न नसकेर आत्महत्या, प्रेममा विछोड भएर आत्महत्या, फलाना सेलिब्रेटिले गरे आत्महत्याजस्ता समाचारले मानसिक समस्यामा भएका, डिप्रेसन अवस्थामा भएका मानिसलाई आत्महत्या नै विकल्प रहेछ भन्ने पारिदिनसक्छ ।’ 

मनोविद ढकालको सुझाव छ मानसिक स्वास्थ्यमा सत्ता उदासिन हुनु हुँदैन । समाज, परिवार र मिडिया पनि त्यति नै जिम्मेवार बन्नुपर्छ । 



लोकप्रिय समाचार
नयाँ