arrow

७० प्रतिशत भन्दा बढीले घट्यो सिमेन्ट क्लिङ्करको आयात

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असार २१ आइतबार
limestone-cements.jpg

काठमाडौं। चालु आर्थिक वर्ष २०७६/०७७को ११ महिना (साउन–जेठसम्म) मा सिमेन्टको क्लिङ्करको आयातमा साढे ७० प्रतिशतले कमी आएको छ। गत आर्थिक आर्थिक वर्ष २०७५/०७६ को सोही अवधिको तुलनामा नेपालमा सिमेन्ट क्लिङ्करको आयातमा ७० दशमलव ५ प्रतिशतले कमी आएको हो।

भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा कुल ३ अर्ब ३७ करोड ८७ लाख ७ हजार रुपैयाँ बराबरको ४६ करोड ७४ लाख किलोग्राम सिमेन्टको क्लिङ्कर आयात भएको छ। गत आर्थिक वर्षको सोही अवधीमा ११ अर्ब ४६ करोड ७६ लाख ६९ हजार रुपैयाँ बराबरको सिमेन्ट क्लिङ्कर आयात भएको थियो।

भन्सार विभागको तथ्याङ्क अनुसार नेपालमा आयात भएको उक्त परिमाणको सबै क्लिङ्कर भारतबाटै आयात भएको छ। कोरोना भाइरसका कारण चैत महिनायता भारत र नेपालमा गरिएको लकडाउनका कारण आयातमा कमी आएको आंकलन गरिएको छ। भारतमा समेत सिमेन्टको क्लिङ्करको अधिकांश हिस्सा चीनबाट आयात हुने गरेको र पछिल्लो समय चीनले निर्यातमा गरेको कडाईका कारण त्यसको असर नेपालमा परेको हुन सक्ने आँकलन गरिएको छ। यद्यपि नेपाल सिमेन्ट उत्पादक संघले भने नेपाल क्लिङ्करमा आत्मनिर्भर हुँदै गइरहेकाले क्लिङ्कर आयातको हिस्सा घट्दै गइरहेको दावी गरेको छ।

सिमेन्ट उत्पादक संघका उपाध्यक्ष एवमं अग्नी सिमेन्टका सञ्चालक तारा पोखरेलले सिमेन्ट निर्माणका लागि प्रयोग गरिने क्लिङ्करमा नेपाल करिब करिब आत्मनिर्भर भइसकेको दावी गरे। ‘हेटौडा, दाङ लगायतका जिल्लामा हार्म्रै चुनढुङगा उद्योगहरु छन्। क्लिङ्कर उत्पादनका लागि हाम्रा आफ्नै उद्योग सक्षम छन्’ उनले हाम्राकुरा डटकमसँग भने, ‘हामीले खासै आयात गर्नु पर्दैन। पूर्वीमा रहेका केही उद्योगहरुले यताबाट ढुवानी कस्ट बढी लाग्ने कारणले भारतबाट आयात गरिरहेका हुन्छन्। त्यसैले भन्सारको तथ्याङ्कमा आयात भएको देखिएको हो।’

पोखरेलले पछिल्लो समय भारत र चीन बीच देखिएको विवादका कारण चीनले निर्यात रोकेको र त्यसको असर स्वरुप नेपालमा हुने आयातमा कमी आएको नभएर नेपालको आफ्नै उत्पादनका कारण आयातमा कमी आएको बताए। ‘भारत आफैंले ठुलो मात्रामा क्लिङ्कर उत्पादन गर्छ। चीनसँग सिमा जोडिएका केही प्रदेशहरुमा चीनबाट क्लिङ्कर आयात गर्ने गर्छ’ उनले भने, ‘भारतमा त्यति ठुलो मात्रामा क्लिङ्कर आयात नहुने भएकाले नेपालमा त्यसको असर पर्यो भन्न मिल्दैन।’ भन्सार विभागको तथ्याङ्क अनुसार नेपालमा गत आर्थिक वर्षभरि कुल ११ अर्ब ६७ करोड ८७ लाख ४१ हजार रुपैयाँ बराबरको सिमेन्ट आयात भएको थियो।

लकडाउनले कारोबार खुम्चियो
पछिल्लो समय कोरोना भाइरस संक्रमण थप फैलिन नदिन भन्दै चैतयता गरिएको लकडाउनका कारण सिमेन्टको कारोबार खुम्चिएको सिमेन्ट व्यवसायीले बताएका छन्। लकडाउनका कारण यातायात, ढुवानी सेवा लगायत बन्द हुँदा त्यसको असर सिमेन्ट उद्योगको कारोबारमा पनि परेको र कारोबार ३० देखि ४० प्रतिशतमा सिमीत भएका उपाध्यक्ष पोखरेलले बताए।



लोकप्रिय समाचार
नयाँ