काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले अहिले सरकार परिवर्तन गर्ने कुरा स्विकार्य नहुने स्पष्ट पारेका छन् । पार्टीभित्रको विवाद समाधानको लागि शीर्ष नेताहरुले आपसी सहमति कायम गर्नुको विकल्प नभएको उनको भनाई छ।
आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले नेकपाभित्रको विवाद कसरी समाधान हुन्छ ? भनेर यतिवेला सारा नेपाली जनता, नेकपाका नेता-कार्यकर्ताहरुले चासो र चिन्ताका साथ हेरिरहेको पनि सुनाए। उनले पार्टीभित्र अहिले देखिएको आन्तरिक विवाद नीति, विचार र विकास र समृद्धिको एजेण्डाभन्दापनि शक्ति बाँडफाँडमा बढि केन्द्रीत रहेको स्पष्ट पारे। उनले भने,‘अहिले नेकपाभित्रको विवाद खासगरी पावर सेयरिङमा सम्बन्धित छ। यही विषयले उचाई लिईरहेको छ। अहिलेको बहस एजेण्डामा भन्दापनि कसरी सरकार परिवर्तन गर्ने भन्नेमा केन्द्रित रहेको छ।’
रायमाझीले लामो समयपछि नेपाली जनताले दुई तिहाई बहुमत दिएर मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न र विकास र समृद्धिको एजेण्डालाई अघि बढाउन नेकपालाई सरकारमा पठाएको सुनाउँदै सोहीअनुसार नेकपा र यसको नेतृत्वमा रहेको सरकार खरो रूपमा उत्रिनुपर्नेमा जोड दिए। ‘दुई तिहाईको सरकार बनेपछि जनतामा यो सरकारप्रति अपेक्षा बढ्नु स्वभाविक हो । हामीले जनताका चाहनाबमोजिम राम्रो काम गर्न सक्ने अवसर थियो। तर, हामीले जनताका अपेक्षा पूरा गर्नेगरि काम गरेनौं । विगतका सरकारभन्दा केही राम्रा काम त पक्कैपनि भएका छन्। तर, दुई तिहाईको सरकार हो यो, त्यो स्तरमा अझै काम भैरहेका छनैन् ।’–रायमाझीको गुनासो छ । अहिले पार्टी एकताका अधुरो कामपनि ओझेलमा परेको उनको गुनासो छ।
मुलुक यतिवेला कोरोनाको महामारीविरुद्ध लडिरहेको, सिमा विवादमा सिंगो राष्ट्र एकजुट भएर लागिरहेको सुनाउँदै उनले यस्तो बेलामा बहस र छलफल अरु विषयमा केन्द्रित गर्नु दुःखद् भएको टिप्पणी गरे । उनले भने,‘सरकारलाई परीणाममुखी बनाउनको लागि छलफल आवश्यक छ, तर सरकार परिवर्तन गर्दैमा समस्याको समाधान त हुने होईन् । यो बेलामा सरकार परिवर्तन गर्नु उपयुक्त होईन्।’
रायमाझीले अहिले सरकार परिवर्तन गर्नु वा प्रधानमन्त्री र अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाउन खोज्नु पार्टी एकताको म्याण्डेटविपरित हुनेपनि टिप्पणी गरे। उनले भने,‘एकता महाधिवेशन नभएसम्म सहमतिका साथ अघि बढ्ने समझदारी छ । अहिले बहुमत वा अल्पमतमा जाने होईन् । बहुमतको आधारमा अध्यक्ष वा प्रधानमन्त्री परिवर्तन गर्दा त्यो पार्टी एकताको म्याण्डेटविपरित हुन्छ ।’ अहिले प्रधानमन्त्री परिवर्तन गरिए देश अस्थिरतातर्फ जानेपनि उनले खतरा औंल्याए। तर, आवश्यक पर्यो भने सहमतिका आधारमा पदको बाँडफाँड भने गर्न सकिने विषय भएको उनको भनाई छ । पार्टी एकताभन्दा बाहिर नजानको लागि देशभरिका नेता तथा कार्यकर्ताहरुले नेतृत्वलाई खबरदारी गरिरहेको उनले जनाए ।
अहिले देखिएका विवाद समाधानको लागि नेताहरुले पार्टी एकतालाई केन्द्रविन्दुमा राखेर छलफल गर्नुपर्ने उनको सुझाव छ । ‘विधि, प्रक्रियासम्वद्ध छलफल हुनुपर्छ । यही छलफलको माध्यमबाट समस्याको हल गर्नुपर्छ । समाधानको उपाय खोज्नुपर्छ ।’–रायमाझीले भने । उनले अहिलेको विवादलाई युद्धविराम गर्नसमेत नेताहरुसमक्ष आग्रह गरे । ‘आवेगमा होईन विवेकले चल्ने बेला हो, सहमतिको माध्यमबाट नै हामी अघि बढ्नुपर्छ।’–रायमाझीले थपे। उनले नेताहरुले एकले अर्कोलाई सम्मान गर्दै अहिले देखिएका विवाद वा समस्याको समाधान खोज्नुपर्ने बताए । नेकपा विभाजन भए गणतन्त्र नै खतरामा पर्ने उनको टिप्पणी छ । उनले नेताहरुलाई सहमतिको लागि अन्तिमसम्म प्रयत्न गर्नपनि आग्रह गरे । आफूहरु दोस्रो पुस्ताका नेताहरुपनि पार्टी एकतालाई जोगाउनको लागि नेतृत्वलाई दबाब सिर्जना गर्ने काममा लागिरहेको रायमाझीले सुनाए।
पहिलो पुस्ताका नेताहरुले सहमति कायम गर्नुको विकल्प नै नभएको उनको भनाई छ । र, दोस्रो पुस्ताका नेताहरुले पहिलो पींढिका नेताहरुलाई उक्साउने काम गर्न नहुने उनको सुझाव छ । उनले भने,‘हामीले विवाद चर्काउनेगरि आफ्नो भूमिका निर्वाह गर्नुहुँदैन् । बरु, विवाद मत्थर पार्नेगरि आफूलाई सक्रिय बनाउनुपर्छ।’
रायमाझीले पार्टीका शीर्ष नेताहरुले अहिलेको विवाद मिलाउन नसके उनीहरुको नेतृत्व र खुबीमाथि प्रश्नचिन्ह उठ्नेपनि टिप्पणी गरे । उनले भने,‘पार्टी नेतृत्वले विवाद हल गर्न सक्नुभएन भने उहाँहरुको क्षमतामाथि पनि प्रश्न उठ्छ । यदि पार्टीलाई विभाजनतर्फ लैजानु भयो भने उहाँहरुको क्षमतामा त प्रश्न उठ्छ नै । उहाँहरुलाई विवाद मिलाउने अधिकार छ । तर, पार्टी विभाजन गर्ने राईट्स छैन् ।’
पार्टी विभाजन गर्नेहरुलाई नेता मान्न पनि जरुरी नरहेको उनको भनाई छ । उनले कसैको उक्साहटमा, निर्देशन वा बहकावमा लागेर पार्टी विभाजन गर्ने कदम चाले स्वयम ती नेताहरुको लागि दुर्भाग्यपूर्ण हुने बताए । उनले नेकपा विभाजन भयो भने गणतन्त्र धरापमा पर्ने खतरा पूनः औंल्याए । उनले भने,‘हामी पार्टी एकता जोगाउनको लागि अन्तिमसम्म पनि क्रियाशिल रहन्छौं ।’
उनले आफू पार्टीभित्र कुनैपनि गुटमा नभएको स्पष्ट पारे । रायमाझीले थपे,‘म नेकपाको गुटमा छु । म नेकपाको सिपाही हुँ । कार्यकर्ता हुँ । मैले गुटलाई विश्वास गर्दिन् । प्रचण्ड मेरो आदरणीय नेता हो । अभिभावक हो । अर्को अध्यक्ष कमरेड केपी ओलीपनि मेरो नेता हो । म पार्टीको मान्छे हुँ । कुनै व्यक्तिको मान्छे होईन्।’