सुर्खेत । प्रदेश अस्पताल सुर्खेतमा कार्यरत विशेषज्ञ चिकित्सकसहित नौ जना स्वास्थ्यकर्मी कोरोना जितेर घर फर्केका छन् । कोरोना विशेष अस्पतालको आइसोलेशनमा दुई साताको निगरानीपछि ती स्वास्थ्यकर्मीको पुनःपिसिआर परीक्षणका क्रममा नतिजा ‘नेगेटिभ’ आएको हो ।
अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काले नतिजा ‘नेगेटिभ’ आएपछि उनीहरुलाई आइतबार डिस्चार्ज गरिएको बताए । उनका अनुसार संक्रमित चिकित्सक एवं स्वास्थ्यकर्मीमा कुनै लक्षण देखिएको थिएन ।
कोरोनामुक्त चिकित्सकले एक सातापछि काममा खटिने बताएका छन् । कर्णालीमा यसअघि एक हजार २०१ जना संक्रमित कोरोनामुक्त भई घर फर्किसकेका छन् । कोरोना निको भएसँगै अब आइसोलेशनमा सक्रिय संक्रमितको सङ्ख्या भने २७३ रहेको छ । संक्रमितमध्ये छ जनाको मृत्यु भइसकेको छ ।