काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालय र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको संयुक्त आयोजनामा भएको गरगहना परीक्षण सम्बन्धि तालिम सम्पन्न भएको छ ।
गत मंगलबारबाट सुरु भएको तालिम आइतबार समाप्त भएको सुन चाँदी रत्न तथा आभुषण महासंघले जानकारी दिएको छ ।
समापन कार्यक्रममा प्रमुख अतिथि रहेका भन्सार विभागका महानिर्देशक सुमन दाहालले यस किसिमको गरगहना सम्बन्धि प्राविधिक तालिम पहिलो र ऐतिहासिक भएको बताउँदै देशभरका सम्बन्धित कर्मचारीहरुलाई प्रशिक्षणको व्यवस्था भविष्यमा समेत गर्न महासंघबाट सहयोग हुने अपेक्षा राखिएको बताए ।
उनले अत्यन्त छोटो समयको बावजुद पनि यस किसिमको प्रशिक्षण तालिम कक्षाको व्यवस्था गरेकोमा प्रशिक्षक तथा महासंघलाई धन्यवाद व्यक्त गरे । साथै प्रशिक्षार्थी कर्मचारीहरुबाट तालिमबाट प्राप्त भएको अनुभव सुन्न पाउँदा आफू खुशी भएको दाहालले बताए ।
सो अवसरमा कार्यालय भन्सार कार्यालय प्रमुख शम्भु प्रसाद मरासिनीले विज्ञहरुको कमीका कारणले भन्सार चेकजाँचमा जटिल समस्या आईरहेको बेला गरिएको परिक्षण तालिमबाट समस्या समाधान हुने बताए ।
समापन कार्यक्रमा प्रशिक्षार्थीहरुले उक्त तालिमबाट सुनचाँदी गरगहना परिक्षण सम्बन्धि ठूलो ज्ञान प्राप्त भएको बताए ।
समापन कार्यक्रमको अध्यक्षता गर्दै नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष रमेश महर्जनले यस किसिमका तालिमहरुले निजी तथा सरकारी निकायबीच विश्वासको वातावरण सिर्जना हुने र निजी र सरकारी सहकार्यबाट नै राष्ट्रको आर्थिक विकासमा ठूलो टेवा पुग्ने बताए ।
उनले नियामक निकायमा क्षेत्रगत विज्ञहरु भएमा राजस्व अभिवृद्धि र निर्यात प्रवद्र्धनमा पनि अहम भूमिका खेल्ने विश्वास हुने बताए ।