काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकाले कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनका कारण सिमेन्ट उद्योगसमेत घाटामा गएको बताएका छन् ।
अर्घाखाँची सिमेन्टका सञ्चालक समेत रहेका मुरारकाले चैत देखि जेठ महिना चुनढुङ्गा खानी चलाउने मूख्य सिजनमै भएको लकडाउनका कारण चुनढुङ्गा उद्योग र सिमेन्ट उद्योगले नोक्सानी बेहोर्न परेको बताए ।
‘जुन उद्योगहरु स्थानीय खानी प्रयोग गरेर क्लिङ्कर बनाउँथ्ये । ती उद्योगहरुले खानी चलाउन पाएनन्’ मुरारकाले हाम्राकुरासँग भने, ‘हामीलाई त्यहाँ असर परेको छ । असर तत्काल नदेखिएपनि भविष्यमा अवश्व देखिन्छ ।’
बर्खामा चुनढुङ्गा पग्लिने भएकाले क्लिङ्कर बनाउनका लागि उपयुक्त नहुने र क्लिङ्कर निर्माणको मूख्य सिजन नै चैतदेखि जेठसम्मका तीन महिना रहेको मुरारकाको भनाई छ ।
‘खानी चलाउने भनेकै चैत, वैशाख जेठ हो’ उनले भने, ‘यो तीन महिना पुरै बन्द भयो । अहिले सिमेन्टको माग नै २५ प्रतिशत भन्दा बढीले घटेको छ ।’
लकडाउनले घाटामा गएका उद्योगलाई उकास्नको लागि आगामी आर्थिक वर्ष २०७७–०७८को मौद्रिक नीतिमार्फत राहत दिनुपर्ने मुरारकाले बताए ।
नेपाल राष्ट्र बैंकले आगामी साउन पहिलो साता सार्वजनिक गर्न लागेको मौद्रिक नीतिमार्फत आफुहरुले बैंकहरुबाट लिएको लोनको ब्याजदर घटाएमा सिमेन्ट उद्योग, क्लिङ्कर उद्योगलाई पूर्ववत अवस्थामा फर्किनको लागि राहत मिल्ने मुरार्काले बताए ।
‘सिमेन्ट उद्योगको पस्र्ववत अवस्थामा फर्किनका लागि बैंकको ब्याजदर घटाइनु पर्छ । ब्याजदर नघटाइकन गाह्रो हुन्छ’ उनले भने, ‘पुससम्म कम्तीमा ४ प्रतिशतले घट्नुपर्छ । ४ प्रतिशतसम्म नघटीकन उद्योग चाँही थलैपर्छ ।’ त्यस्तै उनले बैंकहरुलाई तिर्नुपर्ने ब्याज तथा साँवाको लागि पुनर्तालिककिरण गर्नुपर्ने बताए ।
‘पूर्वमा क्लिङ्कर उद्योग नभएकाले आयात हुन्छ’
मकवानपुर, दाङ लगायतका जिल्लामा क्लिङ्कर उद्योग रहेका र त्यहाँबाट पूर्वी क्षेत्रमा रहेका सिमेन्ट उद्योगका लागि क्लिङ्कर ढुवानी महंगो भएका कारण भारतबाट आयात गर्नुपरेको मुरारकाले बताए ।
सिमेन्ट उत्पादकहरुले नेपाल सिमेन्टको क्लिङ्करमा आत्मनिर्भर भएको बताइरहेका बेला चालु आर्थिक वर्षको ९ महिनामा मात्रै ३ अर्ब बढीको क्लिङ्कर आयात कसरी भयो ? भन्ने प्रश्नमा उनले त्यस्तो जवाफ दिएका हुन् ।
‘भद्रपुर विर्तामोडतिर क्लिङ्कर उद्योग छैन’ उनले भने, ‘अलि अलि भातरबाट आयात भइरहेको हुन्छ । यता आउँदैन ।’
भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ९ महिनामा नेपालमा ३ अर्ब रुपैयाँ भन्दा बढीको ४६ करोड बढी किलोग्राम क्लिङ्कर आयात भएको छ ।