काठमाडौं। सरकारले सलह किराका लागि नेपाली मौसम अनुकल नहुँदा सलह मरेको दावी सरकारले गरेको छ। यमन, इरान, पाकिस्तान, भारत हुँदै नेपाल प्रवेश गरेको सलहका लागि नेपालको मौसम अनुकल नहुँदा मरेको कृषि तथा पशुपन्छि विकास मन्त्रालय अन्तरगतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले जानकारी दिएको हो।
केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले नेपालमा प्रवेश गरेको सलह हिमाल तथा उच्च पहाडी क्षेत्रमा गएको र त्यहाँको मौसम अनुकल नहुँदा मरेको बताए। ‘नेपालमा प्रवेश गरेको सलहका लागि मौसम अनुकल भएन’ उनले भने, ‘सलहको आयु समेत छोटो हुने भएकाले सलह मरेको हो।’ बाग्लुङ कृषि ज्ञान केन्द्रले बाग्लुङको ढोरपाटनमा सलह मरेको फेला पारेकाले चिसोमा सलह मरेको पुष्टि भएको सुवेदीले दावी गरे।
‘बाग्लुङमा मात्रै होइन, कालीकोट र मुस्ताङ लगायतका जिल्लामा पनि सलह किरा मरेर झरेका फेला परेको हाम्रा ज्ञान केन्द्रहरुले जानकारी गराएका छन्’ उनले भने, ‘हावाको वेगमा समेत परिवर्तन आएकाले भारतबाट पश्चिम भारतबाट पश्चिमतिर लागेको अनुमान गरेका छौं। नेपालको सीमाबाट धेरै टाढा छ। नजिक आएको छैन।’
नेपालमा लेकतिर गएर चिसो सहन नसकी मरेर सकिएको सुवेदीको दावी छ। नेपालमा सलहको झुण्ड नै साना–साना आएका र त्यसमा पनि मरेका फेला परेका कारण चिसो र वर्षाको मौसममा सलहले कृषिबालीमा क्षति गर्न नसक्ने निष्कर्षमा आफुहरु पुगेको सुवेदीले बताए। वयस्क सलहको आयु समेत २ महिनाको मात्रै हुने गरेको प्लान्ट क्वारेन्टाएन तथा विषादी व्यवस्थापन केन्द्रको भनाई छ। ‘उमेर पनि जाँदै गयो’ उनले भने, ‘मौसम पनि उनीहरुका लागि उपयुक्त भएन।’
मकै र तरकारीमा क्षति
प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार नेपालका विभिन्न जिल्लामा गरी करिब ११ सय हेक्टर क्षेत्रफलको कृषि बालीमा क्षति पुर्याएको छ। केन्द्रका अनुसार मकै, तरकारी र फलफुलमा गरी कुल ११ सय १८ हेक्टर क्षेत्रफलमा लगाएको कृषिबालीमा क्षति पुर्याएको हो। कति परिमाण बराबरको क्षति भएको विश्लेषण भइरहेको सुवेदीले बताए। उनका अनुसार दाङ, प्युठान, रोल्पा, रुकुम, सल्यान लगायतका जिल्लामा क्षति पुर्याएको हो। क्षतिको वास्तविक तथ्याङ्क संकलन र विश्लेषणको काम भइरहेको सुवेदीले बताए।