arrow

बिकेन नाढीमन तालको माछा 

logo
प्रकाशित २०७७ असार २३ मंगलबार
fish1.jpg

सर्लाही । सर्लाहीको एक मात्रै नाढीमन तालको माछा बिक्री हुन सकेको छैन । चन्द्रनगर गाउँपालिकामा पर्ने सो तालको माछा बिक्री नहुँदा गाउँपालिकाबाट पोखरी ठेक्कामा लिएर माछा हालेका ठेकेदार मारमा परेका छन् । 

सो तालको माछा ठेकेदार दुलार मुखिया बिनले पाँच वर्षका लागि २०७४ फागुन १२ मा ठेक्का लिएका थिए । उनले छ करोड १९ लाख ९५ हजार रुपियाँमा तालको माछा ठेक्का लिएका हुन् । 

तीन महिना बढीको बन्दाबन्दीले गर्दा माछाले बजार नपाएको ठेकेदार दुलार मुखिया बिनले गुनासो गरे । यहाँका सबैजसो माछा मानिसको बढी आवतजावत हुने शहरका होटलहरुमा जाने हो, बन्दाबन्दीले गर्दा होटल रेष्टुरेन्ट खुल्न पाएका छैनन्, ठेकेदार मुखियाले गुनासो गर्दै भने, ‘माछा धेरै उत्पादन हुने याममै बन्दाबन्दी हुँदा ठूलो नोक्सानी व्यहोर्नु पर्यो ।’

होटलहरु बन्द हुँदा तयार भइसकेको माछा पोखरीमै थन्किएको उनले गुनासो गरे । यस्तै गर्मीले गर्दा तालभित्र धेरै माछा मरेका समेत उनले बताए । तीन महिना बजार ठप्प हुँदा ठेक्काको रकम उठाउन समेत मुस्किल पर्ने अवस्था आएको ठेकेदार मुखियाको गुनासो छ ।  

सर्लाहीमा चन्द्रनगर, भक्तिपुर, ईश्वरपुर, ब्रह्मपुरी लगायतका क्षेत्रमा व्यवसायिक रुपमा माछापालन हुने गरेको छ । किसानले ठूल्ठूला पोखरी खनेर माछा पालन गर्दै आएका छन् । 

यहाँ उत्पादन भएको माछा सिन्धुली, लहान, इटहरी, धरान, काठमाडौं लगायत देशका प्रमुख शहर र छिमेकी मुलुक भारतको सीतामढीसम्म निकासी हुने गरेको छ । 

निजी पोखरी तथा ठेक्कामा पोखरी लिएर माछापालन गरेका किसानले पनि बन्दाबन्दीको मार खेप्नु परेको छ । अहिले विस्तारै बन्दाबन्दी खुकुलो भएपछि भने थोरै परिमाणमा माछा निकासी हुन थालेको किसानले बताएका छन् ।



लोकप्रिय समाचार
नयाँ