पोखरा । पूर्व सभामुख एवं नेपाली कांग्रेसका नेता तारानाथ रानाभाटलाई मातृशोक परेको छ । उनकी आमा एवं प्रजातन्त्र सेनानी स्वर्गिय नारायणदत्त रानाभाटकी धर्मपत्नी खिमकुमारी रानाभाटको मंगलबार बिहान ८ः५५ बजे पोखरा २६ स्थित आफ्नै निवासमा निधन भएको उनका छोरा नेपाली कांग्रेस कास्कीका सचिव देवेन्द्र रानाभाटले जानकारी दिए ।
उनी लामो समयदेखि बिरामी थिइन् । उनी सय वर्ष बाँचिन् । उनको जन्म १९७७ साल असोजको बिजयादशमीका दिन भएको थियो ।
सामाजिक रुपमा र राजनितीक रुपमा समेत क्रियाशिल उनको नेपाली कांग्रेस पार्टीमा अतुलनीय योगदान रहेको छ ।
उनका छोराहरु तारानाथ रानाभाट, खिलेन्द्र रानाभाट, देवेन्द्र रानाभाट र सुरेन्द्र रानाभाट छन् भने छोरीहरु खिमादेवी रानाभाट र शोभा कुमारी रानाभाट रहेका छन् ।
स्वर्गीय रानाभाटको मंगलबार दिउँसो २ः३० बजे निवासबाट शवयात्रासहित रामघाटमा अन्त्येष्टि गरिने परिवारिक स्रोतलाई उधृत गर्दै पत्रकार सरिता तिम्सिना पंगेनीले जानकारी दिइन् ।