काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको मंगलबार ७४ औं जन्मोत्सव । उनी मंगलबारदेखि ७३ वर्ष पूरा गरेका छन् ।
राजा महेन्द्रका माइला छोरा ज्ञानेन्द्र २००४ सालमा जन्मेका हुन् । उनी यति भाग्यमानी हुन् कि २००७ सालमा नै बालराजा बनेका थिए ।
सामान्यतया माइलो छोरो राजा बन्दैनन् । जेठो नै राजा बन्छन् । उनलाई २०५८ सालमा दाजु पूर्वराजा वीरेन्द्र शाहको वंशनाश (जेठ १९, २०५८ मा) भएपछि राजा बन्ने अवसर जुरेको थियो ।
तर २०६५ जेठ १५ गते दलहरुले देशलाई गणतन्त्रात्मक देश भनी घोषणा गरेपछि ज्ञानेन्द्रले सहजै नारायणहिटी दरबार त्यागेर नागार्जुन गएका थिए ।
यसवर्ष मनाएनन् जन्मोत्सव
सामान्यतया हरेक वर्ष पूर्वराजाको जन्मोत्सव भव्य हुने गर्छ । निर्मल निवासमा विशेष समारोहको आयोजना नै गरिन्छ ।
आस्था राख्नेहरु लाम लागेरै शुभकामना दिन पुग्छन् । एकैछिन ‘राजा आउ देश बचाउ’ को नारा घन्काउँछन् ।
आफ्ना विचार पोख्छन् । दलहरुले देश डुबाए भनेर गुनासो गर्छन् ।
यसपालि भने पूर्वराजाले जन्मोत्सवमा औपचारिक कार्यक्रम गरेनन् । उनले कुनै औपचारिक कार्यक्रम नगर्ने घोषणा गरेका थिए ।
देशमा कोरोना भाइरसको महामारी फैलिएको र जनताको गास, वास र कपासमा समस्या भएको भन्दै सरकारलाई उचित ख्याल गर्न आग्रह गर्दै उनले यसपटक जन्मोत्सव नमनाउने घोषणा गरेका थिए ।