काठमाडौं। नेपाल बैंकर्स संघले बैंकिङ क्षेत्रको खर्च कटौतीका लागि अध्ययन गरिरहेको बताएको छ। विभिन्न समयमा बैंकहरुले ल्याएका विभिन्न स्किमहरु हटाएर वा अन्य के कसरी खर्च कम गर्न सकिन्छ त्यसको बारेमा संघले अध्ययन गरिरहेको हो।
एसोसिएसनका कार्यकारी निर्देशक अनिल शर्माले कर्मचारी हटाएर वा विभिन्न समयमा विभिन्न बैंकहरुले ल्याएका विभिन्न विमा लगायतका स्किमहरु हटाएर के कसरी खर्च कम गर्न सकिने विषयमा संघले अध्ययन गरिरहेको जानकारी दिए। ‘विभिन्न बैंकहरुले विभिन्न सयममा ग्राहक आकर्षित गर्न ल्याएका स्किमहरु हटाउनु नै पर्छ भन्ने जरुरी छैन। अहिलेसम्मका स्किमहरुमा केही मोडिफाइ गर्नुपर्ला, केही थप गर्नु पर्ला’ उनले भने, ‘केही हटाउनु पर्ने पनि हुनसक्छ। के गर्ने भन्ने विषयमा अध्ययन गरिरहेका छौं। ठ्याक्कै निर्णय भएको छैन।’
यसअघि विभिन्न वाणिज्य बैंकहरुले विभिन्न समयमा ग्राहक आकर्षित गर्नका लागि विमा लगायतका स्किमहरु ल्याएका थिए। पछिल्लो समय कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनका कारण बैंकहरुको नाफा खुम्चिएको र खर्च पहिलेकै अवस्थामा भइरहेको भन्दै बैंकहरुले खर्च कटौतीका नाममा ती स्किमहरु हटाउन थालेका छन्।
खर्च कटौतीका लागि स्किमहरु हटाउन राष्ट्र बैंकबाटै निर्देशन आएकाले स्किम हटाउन थालिएको बैंकहरुले प्रतिक्रिया दिएका छन्। यद्यपि नेपाल राष्ट्र बैंकले पनि स्किम हटाउन भनेरै बैंकहरुलाई निर्देशन नदिएको जनाएको छ। राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बैंकहरुलाई स्किम हटाउन भनेर तोकेरै राष्ट्र बैंकबाट निर्देशन नभएको बताए।
बैंकर्स संघले भने स्किम ल्याउने बेलामा राखिएका सर्तका आधारमा बैंकहरुले आफ्नो स्किम आफैं अटाउन सक्ने प्रतिक्रिया दिएको छ।