ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरमा मंगलबार बसेको बैठकले रातो मच्छिन्द्रनाथको रथारोहण र सोसम्बन्धी कार्य स्थगन गर्ने निर्णय गरेको छ ।
गुठी संस्थान कार्यालय ललितपुरले मीननाथका ञ्वाँल नाइके चिरीकाजी महर्जनलाई मंगलबार अपराह्न पत्र लेखी उक्त निर्णयबारे जानकारी गराएको संस्थानका कार्यालय प्रमुख राजन भुजुले जानकारी दिए ।
यसअघि ‘रक्तावलोकितेश्वर’को रथारोहण बुधबार हुने भनिएको थियो । विश्वमा अहिले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पनि बढ्दै गएको छ ।
मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषीले बुधबार उत्तम साइत रहेको ठहर गरी पुल्चोकमा धमाधम वर्षा र सहकालका देवता बुँगद्योको रथ निर्माणको काम मंगलबारसम्म भइरहेको थियो ।
केही दिनअघि संस्थान ललितपुरले तःबहालस्थित हाल राखिएको पाटीको भित्तामा समेत असार २४ गते रथारोहण हुने भनेर सूचना टाँस गरिसकेको थियो ।
“हालको समय र परिस्थितिका कारणका हामीले भोलि(बुधबार) रथारोहण गर्ने कार्यक्रम स्थगन गरेका हौँ”, संस्थान ललितपुरका कार्यालय प्रमुख भुजुले भने ।