arrow

चार दिन गुप्तवास बसेर प्रधानमन्त्री ओली आलोचना सहन सक्ने भएकै हुन् त ? 

logo
बाबु नेपाली,
प्रकाशित २०७७ असार २४ बुधबार
ncp-sthi-committee.jpg

अपडेट– बुधबार असार २४ गते बस्ने भनिएको नेकपाको स्थायी कमिटी बैठक शुक्रबारसम्मका लागि सरेको छ ।

काठमाडौं । चार दिनसम्म स्थगित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक बुधबार फेरि बस्दैछ ।

प्रधानमन्त्री केपी शर्मा ओली स्थायी कमिटी बैठकमा आफ्ना आलोचना सुन्न नसकेपछि पार्टी नै फुटाउने मुडमा पुगेको भन्ने चर्चा चलेपछि एकाएक नेकपाभित्र तरंग फैलिएको थियो । 

सरकारका काम राम्रा नभएको र पार्टी पनि विधिपूर्वक नचलेको भन्दै ओलीको असक्षमताप्रति प्रश्न उठाउँदै स्थायी कमिटीमा दुई तिहाई सदस्यले उनको राजीनामा मागेपछि उनी छट्पटाएका थिए । 

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल तथा उपाध्यक्ष वामदेव गौतमसहितका नेताहरुले नै ओलीको राजीनामा मागेपछि उनलाई खपिनसक्नु भएको थियो । 

ओलीले यसकै कारण भारत आफूलाई हटाउन लागिपरेको आरोपमात्र लगाएनन् बाँकी नेतालाई दलालको संज्ञा दिए । 

निर्वाचन आयोगमा आफ्ना कार्यकर्तालाई नेकपा एमाले जगाउने गरी दल दर्ता गर्न लगाउनु, संसदको चालु अधिवेशन अन्त्य गराउनु, आफूमात्र राष्ट्रवादी भएको अरु दलाल भएको भन्दै सडकमा कार्यकर्ता उचाल्न लगाउनु लगायतका गतिविधि गरेपछि ओली पार्टीबाट झन् बढी आलोचित भए । 

पार्टी फुट्ने संकेत पाएपछि नेकपाका शीर्ष नेताहरु पार्टी जोगाउनतिर लागे । ओलीले राजीनामा दिनु त कता हो घुर्की लगाउनतिर लागे । 

प्रचण्डसहितका नेताहरु फकाउन लागे । कमजोर आफू नै भएको पाएपछि ओलीले प्रचण्ड बाहेकका नेतालाई भेट्न पनि चाहेनन् । अर्थात् ओली चार दिन बालुवाटारस्थित प्रधानमन्त्री निवासमा गुप्तवास बसे । 

प्रचण्ड गएर थेरापी दिइरहन्थे । उनी पार्टीको नेतृत्व छाड्न तयार रहे पनि प्रधानमन्त्री भने ओलीले छाड्नु पर्ने बताएका थिए । 

अन्ततः उनीहरुबीच के सहमति भयो त्यो भने गोप्य नै राखिएको छ । त्यही गोप्यतापछि ओली स्थायी कमिटी बैठकमा बस्न राजी भए । 

ओली–प्रचण्डको निरन्तरको छलफलपछि बुधबार स्थायी समिति बैठक बस्न लागेको हो । त्यसअघि पनि दुवैले ‘वान टु वान’, ‘वान अन वान’ छलफल गर्दैछन् । 

प्रचण्डले दुई दिनसम्म त माधव नेपालदेखि झलनाथ र वामदेवलाई पनि भेटेनन् । त्यसपछि तीन नेताहरु प्रचण्डमाथि नै सशंकित हुन थाले । अन्ततः ओलीसंग कुरो नमिलेपछि मंगलबार माधव नेपाललाई भेटे । 

यता, चिनियाँ राजदूतको सक्रियता पनि बढेको छ । राजदूत यान्छीले माधव नेपालदेखि झलनाथ खनालसम्मलाई भेटेर एकतालाई मजबूद पार्ने प्रयास गरेकी छिन् । 

पार्टीको जग राम्रो नभएकाले पार्टी एकता गर्दा पनि चीनले नै भूमिका खेलेको थियो । यसर्थ ओलीको तर्साएर र घुर्की लगाएरै सत्ता सञ्चालन गर्ने योजना कतिसम्म अगाडि जाने हो त्यो हेर्न बाँकी छ । 

त्योभन्दा अगाडि उनलाई स्थायी कमिटीमा फेरि चर्का आरोप लगाएर राजीनामा गर्न वाध्य पारिन्छ कि पार्टी जोगाउने नाममा कुनै पनि सदस्यले राजीनामाको एक शब्द पनि निकाल्दैनन् त्यो भने हेर्न बाँकी छ । 

गणतान्त्रिक प्रधानमन्त्री अधिनायकवादी र तानाशाही भएको आरोप त नेकपाका इतर नेताहरुले लगाएकै छन् । बुधबार उनलाई कस्ता शब्दले प्रहार गर्ने हुन् त्यसको पनि प्रतिक्षा छ । 



लोकप्रिय समाचार
नयाँ