arrow

फेरि सर्यो नेकपा स्थायी कमिटी बैठक, अझै तयार छैनन् ओली 

logo
प्रकाशित २०७७ असार २४ बुधबार
ncp-sthi-committee.jpg

काठमाडौं । नेकपा स्थायी कमिटीको बैठक फेरि सरेको छ । बुधबार (असार २४) गते बस्ने तय भएको बैठक फेरि सरेको हो । बैठक अब असार २६ गते शुक्रबार बस्ने तय भएको छ । 

बैठक बुधबार बिहान ११ बजे बस्ने तय भएको थियो । तर नेकपाका दुई अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार बिहानै भएको छलफलले बैठक दुई दिन फेरि सार्ने जनाइएको हो । 

यसको जानकारी प्रधानमन्त्री एवं अध्यक्ष ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका हुन् । 

अझै तयार छैनन् ओली 

 चार दिनसम्म स्थगित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक बुधबार फेरि बस्ने आशा गरिएको थियो । 

प्रधानमन्त्री ओली स्थायी कमिटी बैठकमा आफ्ना आलोचना सुन्न नसकेपछि पार्टी नै फुटाउने मुडमा पुगेको भन्ने चर्चा चलेपछि एकाएक नेकपाभित्र तरंग फैलिएको थियो । 

सरकारका काम राम्रा नभएको र पार्टी पनि विधिपूर्वक नचलेको भन्दै ओलीको असक्षमताप्रति प्रश्न उठाउँदै स्थायी कमिटीमा दुई तिहाई सदस्यले उनको राजीनामा मागेपछि उनी छट्पटाएका थिए । 

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल तथा उपाध्यक्ष वामदेव गौतमसहितका नेताहरुले नै ओलीको राजीनामा मागेपछि उनलाई खपिनसक्नु भएको थियो । 

ओलीले यसकै कारण भारत आफूलाई हटाउन लागिपरेको आरोपमात्र लगाएनन् बाँकी नेतालाई दलालको संज्ञा दिए । 

निर्वाचन आयोगमा आफ्ना कार्यकर्तालाई नेकपा एमाले जगाउने गरी दल दर्ता गर्न लगाउनु, संसदको चालु अधिवेशन अन्त्य गराउनु, आफूमात्र राष्ट्रवादी भएको अरु दलाल भएको भन्दै सडकमा कार्यकर्ता उचाल्न लगाउनु लगायतका गतिविधि गरेपछि ओली पार्टीबाट झन् बढी आलोचित भए । 

पार्टी फुट्ने संकेत पाएपछि नेकपाका शीर्ष नेताहरु पार्टी जोगाउनतिर लागे । ओलीले राजीनामा दिनु त कता हो घुर्की लगाउन तिर लागे । 

प्रचण्डसहितका नेताहरु फकाउन पट्टी लागे । कमजोर आफू नै भएको पाएपछि ओलीले प्रचण्ड बाहेकका नेतालाई भेट्न पनि चाहेनन् । अर्थात् ओली चार दिन बालुवाटारस्थित प्रधानमन्त्री निवासमा गुप्तवास बसे । 

प्रचण्ड गएर थेरापी दिइरहन्थे । उनी पार्टीको नेतृत्व छाड्न तयार रहे पनि प्रधानमन्त्री भने ओलीले छाड्नु पर्ने बताएका थिए । 


अन्ततः उनीहरुबीच के सहमति भयो त्यो भने गोप्य नै राखिएको छ । त्यही गोप्यतापछि ओली स्थायी कमिटी बैठक बोलाउन राजी भए । तर फेरि बुधबार बिहानै बैठक स्थगित गरिएको खवर आयो । 

मतलब सहमति दिगो थिएन । र ओलीलाई चार दिन थेरापीले पुगेन । अझै दुई दिन चाहिने भयो । 

ओली प्रचण्डले  ‘वान टु वान’, ‘वान अन वान’ छलफल गरिरहेकै छन् । यसको अवतरण कहाँ गएर हुन्छ भने उनीहरुलाई थाहा छैन सम्भवतः । 

प्रचण्डले दुई दिनसम्म त माधव नेपालदेखि झलनाथ र वामदेवलाई पनि भेटेनन् । त्यसपछि तीन नेताहरु प्रचण्डमाथि नै सशंकित हुन थाले । अन्ततः ओलीसंग कुरो नमिलेपछि मंगलबार माधव नेपाललाई भेटे । 

यता, चिनियाँ राजदूतको सक्रियता पनि बढेको छ । राजदूत यान्छीले माधव नेपालदेखि झलनाथ खनालसम्मलाई भेटेर एकतालाई मजबूद पार्ने प्रयास गरेकी छिन् । 

पार्टीको जग राम्रो नभएकाले पार्टी एकता गर्दा पनि चीनले नै भूमिका खेलेको थियो । यसर्थ ओलीको तर्साएर र घुर्की लगाएरै सत्ता सञ्चालन गर्ने योजना कतिसम्म अगाडि जाने हो त्यो हेर्न बाँकी छ । 

त्योभन्दा अगाडि उनलाई स्थायी कमिटीमा फेरि चर्का आरोप लगाएर राजीनामा गर्न वाध्य पारिन्छ कि पार्टी जोगाउने नाममा कुनै पनि सदस्यले राजीनामाको एक शब्द पनि निकाल्दैनन् त्यो भने हेर्न बाँकी छ । 

गणतान्त्रिक प्रधानमन्त्री अधिनायकवादी र तानाशाही भएको आरोप त नेकपाका इतर नेताहरुले लगाएकै छन् । अब  उनलाई शुक्रबार कस्ता शब्दले प्रहार गर्ने हुन् त्यसको पनि प्रतिक्षा छ । 



लोकप्रिय समाचार
नयाँ