कोरोना संक्रमण बढ्दै जाँदा चैत्र २४ देखि लगाइएको थियो मदिरा आयात प्रतिबन्ध
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असार २४ बुधबार
114
Shares
काठमाडौं। विश्वव्यापी रुपमा फैलिएको कोभीड १९ संक्रमणका कारणले महिनौसम्म उद्योगहरु संचालन हुन नसकिरहेको र यो क्रम कति समय सम्म लम्बिने हो भन्ने समेत यकिन नभएको अवस्थामा उद्योग व्यवसाय चौपट भइरहेको छ। महामारीको यस्तो पिडादायी बखतमा देश, जनता र देशको अर्थतन्त्रलाई जोगाउने दायित्व सरकारको काँधमा भएपनि अपेक्षित भूमिका निभाउन नसकेको चर्चा भइरहेको छ।
संसारभर कोरोना प्रभाव बढ्दै जाँदा आयात निर्यात पनि प्रभावित छ। अत्यावश्यक बस्तुको मात्र आयात भइरहेको छ। कोरोनाकालमै विभिन्न देशहरुले आत्मनिर्भर बन्ने योजना ल्याएका छन्। देशममा हुने उत्पादन विदेशबाट आयात नगर्ने गरि विभिन्न देशहरुले कार्यक्रम ल्याएका छन्। वैदेशिक मुद्राको सञ्चितीमा प्रभाव नपरोस भने विलासिताका बस्तुमा रोक लगाउने तथा आयातमा कर बढाउने काम भएका छन्। राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउन विभिन्न देशमा यस किसिमका राष्ट्रहितका कदम चालेको पाइन्छ।
प्रतिष्पर्धी विदेशी कम्पनीहरुसँग प्रतिष्पर्धा गर्ने स्वदेशी उद्योगहरुलाई वढावा दिन तथा उनीहरुको उत्पादनलाई प्रवर्द्धन गर्नुपर्ने माग नेपालमा पनि उठेको छ। सांसद दिव्यमणी राजभण्डारीले कोरोना महामारीको समयमा औषधी सहित अत्यावश्यक बस्तुहरुको आयात गरि विलासिताका सम्पूर्ण बस्तुहरु, मदिरा, चकलेट लगायत आयात रोक्नुपर्ने बताउँछन्। उनले यो मागलाई संसदमा पनि पटकपटक उठाए पनि । अन्य सांसदहरुले समेत यो मुद्धालाई बल पुर्याउँदै नेपालमै उत्पादन हुने बस्तुहरु बिदेशबाट ल्याउन रोक लगाउनु पर्ने बताएका थिए। तर अर्थमन्त्री युवराज खतिवडाले बजेट ल्याउँदा यो कुरामा ध्यान दिएनन्।कुनै एक घरानाको स्वार्थमा चकलेटमा देखिने गरि कर कम गरिदिए। खतिवडाको सो कदमको चौतर्फी आलोचना पनि भयो।
अहिले फेरि यसैगरि केहि स्वार्थ समुह विदेशी मदिरा आयात खुलाउन लागिपरेका छन्। कोरोना प्रभाव बढसँगै सरकारले उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयले २०७६ साल चैत्र २४ गते राजपत्रमा सूचना निकाली तयारी मदिरा आयातमा रोक लगाएको थियो। ५० हजार अमेरिकी डलर भन्दा बढीको सवारी साधन, केराउ, छोकडा, सुपारी र नधुल्याएको मरीच अर्को सूचना जारी नभएसम्म पूर्ण रुपमा प्रतिवन्ध लगाउने निर्णय भएको मन्त्रालयका सचिव वैकुण्ठ अर्यालको नाममा जारी राजपत्रमा उल्लेख छ।
राजपत्रमा सूचना जारी भएको ३ महिना वित्दा नवित्दै स्वार्थ समूह तयारी मदिराको आयातको प्रतिवन्ध हटाउन लागिपरेको छ। कोरोनाको खास प्रभाव भर्खर मात्र देखिन थालेको बेला केहि मदिरा आयातकर्ता भने विदेशी मदिरा ल्याउन रोकिदा सबै तिर्खाएर मर्लान झै गरि उद्योग मन्त्रालयसहित शक्ति केन्द्रहरुमा लविङमा लागेका छन्। उनीहरुले अर्थ मन्त्रीलाई समेत प्रभावित पार्ने प्रयास जारी राखेका छन्।
नेपालजस्तो विकासोन्मुख मुलुकले विलासी बस्तुको आयातमा संचित विदेशी मुद्रा खर्च गर्नु जोखिमयुक्त त छदैछ त्यस माथी नेपाल भित्रैबाट आपुर्ति हुन सक्ने मदिरा जस्ता विलासी बस्तुको आयातमा खर्च गर्नु त झन खतरापुर्ण रहेको सांसद राजभण्डारी बताउँछन्।
नेपाली युवाहरुले ५० डिग्रिको तामक्रममा श्रम गरेर भित्राएको विदेशी मुद्रालाई मदिरा जस्तो बस्तु आयातमा खर्च गर्न दिनु ति लाखौं युवाहरुको श्रमको अपमान समेत हुने जानकारहरु बताउँछन्। यो समय अलिकति पनि विदेशी मुद्राको खर्च गर्दा सोचेर विचार गरेर मात्र खर्च गर्नु पर्ने हुन्छ । अत्यावश्यक र जनस्वास्थ्यसँग आवश्यक विषय बाहेक अन्य विलासी र अनावश्यक कुरामा विदेशी मुद्रा खर्च गर्नु देशको हितमा हुँदैन।
कतिपयले यहि बेलामा बिदेशी मदिरा आयात रोकिएकोले अबैध घरपाला मदिराको उपभोग बढेकै भन्दै विदेशी मदिरा आयात खोल्नुपर्ने लविङमा लागेका छन्। यसरी लविङ गर्नेहरुले विदेशी मदिराको आयात बन्द भएकाले ति वर्गले अबैध घरेलु मदिरा खान थालेको तर्क गर्न थालेका छन्। विदेशी मदिरा नपाउदा मदिरा पारखीहरुले स्वदेशमै बैध रुपमा नै उत्पादीत मदिरा खोज्ने गरेको बालाजु दिप्ती स्६ोरका संचालक रविन कार्की बताउँछन्। विदेशी मदिरा खपत गर्ने वर्गले सो मदिरा नपाउँदा अवैध घरेलु मदिराको खपतमा बढाएको तथ्य पत्याउने खालकै नभएको कार्कीले बताए।
महामारीको समयमा विदेशी रक्सिको आयात खुलाउन सरकार निकटका केहि व्यवसायीहरु हात धोएर लागेका छन्। उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयको राजनीतिक नेतृत्व र केहि प्रसासनिक नेतृत्व पनि आफू निकट केहि आयातकर्तालाई खुसी पार्न यो खुलाउनु पर्ने भन्दै लागेका छन्। विदेशी मुद्रा संचित गर्नुपर्ने समयमा खर्च गराउने गरि मदिरा आयात गर्न लविङ भएपनि मन्त्रालयको बहुसंख्यक प्रसासनीक नेतृत्वले यसलाई स्विकारेको छैन। अहिलेको असहज राजनितिक वातावरणको फाईदा उठाउँदै केहि राजनितिक तथा कर्मचारीहरु यसलाई खुलाएर आर्थिक लाभ लिने ध्याउन्नमा लागेको मन्त्रालय निकट स्रोत बताउँछ।
यस्ता मदिराजन्य विलासि बस्तुको आयातमा रोक लगाउने उद्धेश्यले सामान्य अवस्थामा पनि हाम्रै छिमेकीहरुले उच्च दरमा भंसार महसुल लिई व्यवहारीक रुपमा प्रतिबन्ध नै लगाउदै आएका छन् ।मदिराजन्य बस्तु स्प्रीट विदेशबाट आयात हुँदा एक सय पचास प्रतिशत थप भन्सार भारतले लगाउँदै आएको छ। श्रीलंकाले नेपाली रुपैया ५५० प्रति लिटर, भुटानले नेपाली रुपैया १६० प्रति लिटर भंसार महसुल लिदै आएको छ। नेपालमा आयात हुँदा प्रतिलिटर पचास रुपैयाँ मात्र भंसार महसुल लाग्ने गरेको छ। सरकारको यहि नीतिकै कारण निर्यात गर्ने स्थिति हुँदाहुँदै पनि नेपालबाट हालसम्म एक लिटर स्प्रिट पनि विदेश निर्यात हुन सकेको छैन।
देशभित्रै पनि मदिरा उद्योगहरु सक्रिय रहेका बेला उद्योगहरुमा भएको लगानी, रोजगारी र देशको समग्र औद्योगीक वातावरणको संरक्षणका लागी एवं संचित विदेशी मुद्रालाई औषधी, स्वास्थ्य उपकरण तथा अत्यावश्यक बस्तुहरुको आयातमा मात्र खर्च गर्नेगरि मितव्ययी निति अपनाउनु पर्ने बेलामा आयात खुलाउन लाग्नु देशहितमा नभएको चेम्वर अफ कमर्शका केन्द्रीय सदस्य कृष्णमान श्रेष्ठ बताउँछन्। मदिराजन्य बस्तुको आयातमा हाल लगाईएको प्रतिबन्धलाई कम्तीमा कोरोना प्रभावको अन्त्य नभएसम्म निरन्तरता दिइनुपर्ने वा मदिराजन्य सबैखाले बस्तुको आयातमा उच्च भंसार दर लगाई आयात नियन्त्रण गरिनु पर्ने उनले बताए।