सिन्धुपाल्चोक । मध्य रातमा आएको बाढीबाट सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी नदी किनारका भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिकाका बस्तिहरु कटान भै धनजनको ठूलो क्षति हुन पुगेको छ ।
त्यस्तै अविरल वर्षाले बाह्रबिसेदेखि तातोपानी क्षेत्रका विभिन्न ठाउँमा क्षति पुर्याएको छ । उद्धारका लागि निस्किएको नेपाली सेना र नेपाल प्रहरी पनि जम्बुसम्म पुग्न नसकेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।
अविरल वर्षाका कारण बाह्रबिसे नगरपालिका जम्बुको ठाडोखोलामा आएको बाढीले बाह्रबिसे नगरपालिकाका १५ घर बगाएको र केही व्यक्ति सम्पर्कविहीन भएका छन् ।
बाह्रबिसे नगरपालिका उपप्रमुख सुशीला पाख्रिनले बताएअनुसार वर्षाले कति क्षति भयो भन्ने यकिन हुनसकेको छैन । बाह्रबिसेको खोर्सानीवारीभन्दा माथितिर जान नसकिएको र टेलिफोन अवरुद्ध भएको पाख्रिनले बताए ।
“खोला सडकमाथि बगिरहेको छ, उद्धारका लागि जानसक्ने अवस्था छैन”, उनले भने । निरन्तर पानी परिरहेकाले पहिरो आएको हो ।
भोटेकोशी नदीको बहाव बढ्नाले आसपासका नागरिक त्रसित बनेका छन् । सबैलाई सुरक्षित रहन उपप्रमुख पाख्रिनले अनुरोध गरेका छन् ।