काठमाडौं । म्यान्चेस्टर सिटीले इंगलिश प्रिमियर लिग फुटबलमा फराकिलो जित निकालेको छ । बुधबार राति भएको खेलमा सिटीले न्युकासल युनाइटेडलाई ५–० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा सिटीलाई जित दिलाउन गाब्रियल जिसस, रियाद महरेज, रहिम स्ट्रर्लिङ र डेभिड सिल्भाले एक एक गोल गरे । न्युकासलका फेड्रिको फर्नान्डेजले एक आत्मघाती गोल गरे ।
जितसँगै सिटीले ३४ खेलबाट ६९ अंक जोडेको छ । सिटी लिगको दोस्रो स्थानमा रहेको छ । अब एक खेल जित्दा उसको दोस्रो स्थान पक्का हुनेछ ।
तेस्रो स्थानको चेल्सीको ३४ खेलबाट ६० अंक छ ।
च्याम्पियनको कथा
च्याम्पियन लिभरपुलले मोहमद सालाह चम्किएको खेलमा ब्राईटन एन्ड होभ आल्बियनलाई हराएको छ ।
एनफिल्ड स्टार सालाहले दुई गोल गरेको खेलमा बुधबार राति लिभरपुलले ब्राईटनलाई ३–१ गोल अन्तरले हराएको हो ।
कप्तान जोर्डन हेन्डरसनले एक गोल थपे । लिन्ड्रो ट्रोसर्डले ब्राईटनलाई एक गोल दिलाए ।
जितसंगै लिभरपुल कीर्तिमानी अंकतर्फ अघि बढेको छ । लिभरपुल यस सिजन म्यान्चेस्टर सिटीले कायम राखेको सय अंकको कीर्तिमान पार गर्न चाहन्छ ।
अब चार खेल खेल्न बाँकी रहेको लिभरपुलले ९२ अंक जोडेको अवस्थामा ४ खेलमा १२ अंक जोड्ने अवसर छ । १०४ अंक हुने सम्भावना छ ।
रेलिगेशन क्षेत्र
नर्विच सिटी रेलिगेशनमा परिसकेको छ । उसको ३४ खेलमा २१ अंक छ । बर्नमाउथको २७ तथा एस्टन भिल्लाको २७ अंक छ । दुवै टिम रेलिगेशनका लागि तयार छन् ।
तर वेष्टह्याम र वाट्फोर्डको समान ३१–३१ अंक भएकाले अझै पनि बाँकी दुई टिमको टुंगो लाग्न बाँकी छ ।