काठमाडौं उपत्यका कोरोना भाइरसको घेरामा, यस्तो छ जालो
न परीक्षण छ, न संक्रमितको ट्रेसिङ छ, सरकार रमिता हेरिरहेछ
बाबु नेपाली,
प्रकाशित २०७७ असार २५ बिहिबार
41
Shares
काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढिरहेको छ । नपत्याउँदो तरिकाले कोरोनाले काठमाडौं उपत्यकालाई घेरा हालेको छ ।
यसको जालो ७१ स्थानमा फैलिइसकेको छ । बुधबारसम्म उपत्यकामा २ सय ९० जनामा संक्रमण पुष्टि भएका छन् ।
जसमा काठमाडौंका १ सय ९१, ललितपुरका ५६ र भक्तपुरका ४३ जना छन् । मृतक पनि बढेका छन् । नजानिँदो पाराले उपत्यकालाई कोरोनाले घेरा हाले पनि सरकारले कुनै वास्ता गरेको छैन ।
यतिसम्म कि दुई जना नेपालमा संक्रमित हुँदा चैत ११ गते लकडाउन लगाउने सरकारले अहिले उपत्यकाभित्रै ७१ स्थानमा २९० जना संक्रमित हुँदा लकडाउन झन् खुकुलो पारेर जनजीवन अस्तव्यस्त बनाएको छ ।
सार्वजनिक यातायात नाममात्रले बन्द छन् । सार्वजनिक यातायात नचले पनि निजी गाडीले यात्रु ओसारेका छन् । निजीलाई सबै छुट छ ।
यातायातमा दलाली बढाउने काम निजीले गरेका छन् । नाकामा कुनै रोकटोक छैन । चार पाङग्रेमा दुई जना मात्र राख्न पाउने नियम लगाउने सरकार र त्यसमातहतका प्रहरी प्रशासन लगायतका कर्मचारीले देखेको नदेख्यै गरेर नियमको उल्लंघन गरेका छन् ।
न ट्राभल हिस्ट्री न लक्षण
काठमाडौं उपत्यकामा एकै दिन सबैभन्दा बढी सोमबार (असार २२ गते) थपिएका थिए । त्यो दिन ५४ जना थपिएका थिए ।
त्यसयता दिनानुदिन संक्रमित थपिएका छन् । मंगलबार २८ र बुधबार २३ जना थपिएका थिए ।
थपिएका मध्ये केहीलाई कसरी कोरोना लाग्यो भन्नेसमेत अनुमान लगाउन कठिन छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा। वासुदेव पाण्डेका अनुसार नेपालमा ९९ प्रतिशत संक्रमित लक्षणविहीन छन् ।
कतिपय संक्रमितको कतै घुमेको रेकर्ड समेत छैन । अनि घरमै बसीबसी समेत संक्रमित भएका छन् ।
यसले स्पष्टै भन्छ कि कोरोना समुदायमा छिरेको छ । टोलटोलमा कोरोना संक्रमण फैलिएको ।
महाशाखाका अनुसार उपत्यकाका १२ ठाउँका स्थानीयमा ट्राभल हिस्ट्री नै नभएको पाइएको छ । तर पनि कोरोना फैलिएको छ । यतिमात्र हैन उनीहरुको ट्रेसिङ हुने अवस्था नै छैन ।
सरकारको लापरवाही
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएकाहरु बाहिर निस्केर आफै गाडी खोजेर चढ्छन् । उनीहरु कहाँ जान्छन् के गर्छन् मतलब छैन ।
नाकाबाट दैनिक हजारौं मानिस उपत्यका छिरेका छन् । प्रहरीले केबल कहाँबाट आएको हो र कतिजना हो भनी ड्राइभरको नाम र फोन नम्बर लिएर छाडिदिन्छ ।
निजी गाडीले धमाधम यात्रु ओसार्दा पनि सम्बन्धित निकाय चुप छ । यो चुप बस्ने प्रवृत्तिमा मिलेमतोको गन्ध आइरहेको हुन्छ । त्यसैगरी कुनै पनि चेकिङ छैन ।
मास्कको कथा
गृह मन्त्रालयले गत मंगलबार मास्क नलगाउनेलाई कार्वाही गर्ने भन्यो । तर दुर्भाग्य हजारौंको संख्यामा उपत्यकामा मास्क नलगाई हिँडेका छन् ।
त्यतिमात्र हैन सुरक्षाकर्मीदेखि सरकारी कर्मचारी पनि निष्फिक्री हिँडिरहेका छन् मास्क बिना ।
केही जिल्लामा कार्वाही पनि भएको छ । मास्क नलगाउनेलाई १०० रुपैयाँ जरिबाना गरिएको छ । के कोरोना रोक्न सयले काफी छ ?
योभन्दा नालायकी अरु के हुन सक्छ ? सरकारले मास्क नभएकालाई निःशुल्क मास्क दिन सक्छ । मास्क बाँड्दै हिँड्नु पर्यो । मास्क किन्ने क्षमता नभएका पनि हुन सक्छन् ।
कोरोनाका नाममा १० अर्ब स्वाहा पारेको महिना बितिसकेको छ । अहिले त्यो रकम अझै कति थपियो होला । के त्यो पैसा भ्रष्टाचार गरेर सक्ने कि जनताको सेवा गरेर सक्ने ? प्रश्नैप्रश्नको घेरामा उभिएको छ केपी शर्मा ओली नेतृत्वको सरकार ।
नेपालमा पहिले ३ रुपैयाँमा पाइने सर्जिकल मास्कलाई अहिले सरकार आफैले ५० रुपैयाँसम्म हालेको बील पनि आएको छ । के भ्रष्टाचार बाहेक यो सरकार अरु केही देख्दैन ?
सरकारलाई भ्रष्टाचार गर्नकै लागि आएको हो त कोरोना ?
नियम लगाउने तर त्यसको पालना गर्न स्वयं सरकारी निकाय नै हिच्किचाउँदा भने त्यसले निम्त्याउने स्थिति भयावह हुन सक्छ ।
प्रधानमन्त्री निवास रहेको स्थान बालुवाटारमै कोरोना संक्रमित छन् । राष्ट्रपति निवास भएको स्थान महाराजगञ्जमै कोरोना संक्रमित छन् । तर मतलब किन गरिन्न ? के ठूलालाई कोरोना लागेको छैन ?
विदेशमा राष्ट्रपति, प्रधानमन्त्रीहरुलाई कोरोना लागिसकेको छ । कोरोनाबाटै मन्त्रीहरु मरेका छन् । के यहाँ सरकार निष्फिक्री छ ?