arrow

बर्दीमा दाग लगाए निर्मम : नवनियुक्त प्रहरी महानिरीक्षक

logo
प्रकाशित २०७७ असार २५ बिहिबार
thapa2.jpg

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले देश, जनता र सरकारको नि:स्वार्थ सेवाका लागि प्रतिबद्ध रहेको बताएका छन् ।

दज्र्यानी चिह्न ग्रहण गर्दै नवनियुक्त प्रहरी महानिरीक्षक थापाले कानूनले तोकिएको जिम्मेवारी इमान्दारितापूर्वक निभाउने विश्वास दिलाए । प्रहरी व्यक्तिगतभन्दा संस्थागत निर्णयमा चल्ने भएकाले सोही वातावरण सिर्जना गर्न आफू दत्तचित्त भएर लाग्ने उनले धारणा व्यक्त गरे । उनले आफ्नो स्वभाव नै नम्र भएकाले त्यसलाई कमजोरी नठान्न आग्रह गरे । उनले भने, “कसैले पनि बर्दीमा दाग लगाउँछ भने निर्ममरुपमा कारवाही गरिन्छ ।”

उनले जीवनमै नसिकेको स्वास्थ्य महामारीको चपेटामा मुलुक रहेकाले सङ्क्रमण रोक्न सिक्दै अघि बढ्ने बताए । प्रहरी समायोजनलाई सही निष्कर्षमा पुर्‍याउनेसमेत उनले प्रतिबद्धता जनाए ।

त्यसअघि गृहसचिव महेश्वर न्यौपानेले नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई दज्र्यानी चिह्न प्रदान गरेका थिए । यसअघिका प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे उमेरहदका कारण गएरातिदेखि अवकाश लिकाले सरकारले उनलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको हो । गृह मन्त्रालयमा बिहिबार बिहान आयोजित एक सामारोहका बीच दज्र्यानी चिह्न प्रदान गर्दै गृहसचिव न्यौपानेले कानूनको परिपालनामा थापाको कार्यकालमा उच्च व्यावसायिकता प्रदर्शन हुने विश्वास व्यक्त गरे । 

कानूनको पालनाका सन्दर्भमा निर्मम हुन आग्रह गर्दै उनले गलत प्रवृत्तिविरुद्ध ‘हिट’ गर्न निर्देशनसमेत दिए । “मैले पहिले पनि भनेको हुँ, अहिले पनि भन्छु, सङ्गठनमा कुनै पनि गलत प्रवृत्ति देखियो भने निकालेर फालौँ, कुनै भनसुन चल्दैन, हरेक निर्णय कानून र निष्पक्षतामा रहेर हुन्छ”, उनले भने ।

प्रहरी जनतामा घुलमिल हुने सङ्गठन भएकाले प्रहरीमा नागरिकमैत्री व्यवहार हुनुपर्नेमा उनले जोड दिए । प्रहरी सङ्गठनमा एकढिक्का बनाएर लैजानुपर्ने, मनोबल र सेवा सुविधा बढाउनुपर्ने, कानूनको परिपालनालाई प्रभावकारी बनाउनुपर्ने चुनौती रहेका उनले बताए । उनले अपराध अनुसन्धानमा शून्य सहनशीलता अपनाउन प्रहरी अधिकृतलाई निर्देश गरे । उनले तीन तहको राज्य संरचनाअनुसार प्रहरी समायोजन गर्ने अभिभारा प्रहरी महानिरीक्षकसामु रहेको बताए । सरुवा, बढुवा, तथा वृत्तिविकासमा दबाब र प्रभावमा पर्नुपरेको भन्ने कुरा सुन्नमा आएको उल्लेख गर्दै उनले मूल्याङ्कनमा अब्बल व्यक्ति नै छनोट हुने प्रष्ट्याए । 



लोकप्रिय समाचार
नयाँ