arrow

युवाहरु गाउँमा हुदाँ रोपाईले गति लियो, पोहोरको भन्दा ४३ प्रतिशतले बढी रोपाई सम्पन्न

मलको अभाव भने कायमै

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असार २५ बिहिबार
paddy-ropai.jpg

काठमाडौं। यस बर्ष रोपाईले गति लिएको छ । विदेश तथा शहरबाट गाउँ फर्किएका युवा गाउँमा नै रहदाँ रोपाईले गति लिएको हो । त्यसैगरी मनसुन समेत समयमा नै सुरु भएपछि अन्य बर्षको तुलनामा रोपाई बढेको तथ्याङले देखाएको छ । पोहोर साल असार २२ गते र यसपालीको असार २२ गतेसम्मको तथ्याङ्क तुलना गर्दा यस वर्ष करिब ४३ प्रतिशत बढीले रोपाई सकिएको हो ।

कृषि तथा पशुपन्छि विकास मन्त्रालयको तथ्याङ्क अनुसार यसवर्ष असार २२ सम्म कुल हुनुपर्ने रोपाईको ६० प्रतिशत भन्दा बढी रोपाई सम्पन्न भइसकेको देखाएको छ। पोहोर सालको असार २२ गतेसम्म कुल हुनुपर्ने रोपाईको २३ दशमलव ८० प्रतिशत मात्र रोपाई भएको थियो।

मन्त्रालयका अनुसार मुलुकभरि कुल १३ लाख ७१ हजार ७ सय ६ हेक्टर क्षेत्रफलमा रोपाई हुने गरेको छ। उक्त क्षेत्रफलको ६० दशमलव ६३ प्रतिशत अर्थात ८ लाख ३१ हजार ६ सय १२ हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न भएको मन्त्रालयले जनाएको छ । पोहोर सोही समयमा ३ लाख २६ हजार ४ सय ५१ हेक्टर क्षेत्रफलमा मात्र रोपाई भएको थियो ।

कर्णालीमा सबै भन्दा बढी रोपाई
मन्त्रालयको तथ्याङ्क अनुसार प्रदेशगत रुपमा सबै भन्दा बढी रोपाई कर्णालीमा भएको छ । कर्णालीमा कुल रोपाई योग्य जमिनको ७९ दशालव ७५ प्रतिशत रोपाई सम्पन्न भएको छ । कर्णालीमा कुल रोपाई योग्य जमिन ३८ हजार ३ सय ८५ हेक्टर क्षेत्रफल रहेकोमा ३० हजार ६ सय ११ हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न भएको छ । पोहोर यही समयमा कर्णालीमा ६६ दशमलव ४१ प्रतिशत मात्र रोपाई भएको थियो ।

कर्णालीपछि बढी रोपाई हुने प्रदेशमा सुदूरपश्चिम प्रदेश रहेको छ । सुदूरपश्चिम प्रदेशमा कुल रोपाईको ७५ दशमलव ८६ प्रतिशतर रोपाई सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशमा १ लाख ६४ हजार ६ सय ३९ हेक्टर क्षेत्रफल रोपाई योग्य रहेको छ । त्यसमध्ये १ लाख २४ हजार ८ सय ९६ हेक्टर क्षेत्रफलमा धान रोपाई भएको मन्त्रालयको तथ्याङ्क छ।

मन्त्रालयका अनुसार सबै भन्दा कम रोपाई प्रदेश २ मा भएको छ । रोपाई गर्नुपर्ने क्षेत्रफल बढी भएका कारण प्रतिशतमा कम रोपाई भएको देखिएको बताइएको छ । उक्त प्रदेशमा असार २२ सम्म कुल १ लाख ८३ हजार ६ सय ७ हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न भएको छ । त्यहाँ कुल ३ लाख ६५ हजार ६ सय १५ हेक्टर क्षेत्रफलमा रोपाई हुने गरेको छ।

यसवर्ष कोरोना संक्रमणका कारण विदेशबाट फर्केका धेरै युवा गाउँमा हुँदा र समयमै मनसुन सुरु भएका कारण समयमै उल्लेख्य रोपाई भएको मन्त्रालयको प्रक्ष्येपण गरेको छ । त्यसैगरी कोरोनाका कारण शहरबाट गाउँ फर्किएका युवाहरु समेत गाउँमा बसिरहेका छन्। यही गतिमा रोपाई भए समयमै रोपाई सकिने भएकाले धान उत्पादनमा समेत त्यसको सकारात्मक प्रभाव देखिने मन्त्रालयको प्रक्ष्येपण छ।

यद्यपि धान रोपाई पोहोरको भन्दा उल्लेख्य रुपमा बढे पनि धानको लागि चाहिने मलको अभाव कायमै छ । अझ प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले भदौ महिनासम्म सलह किरा नेपाल आउने सम्भावना रहेको जानकारी गराएकाले सलहको जोखिम समेत उतिकै छ ।



लोकप्रिय समाचार
नयाँ