arrow

भोटेकोशीमा बेपत्ताको खोजीमा सरकार अग्रसर नभएको भन्दै मोहन बस्नेतको आपत्ति

logo
प्रकाशित २०७७ असार २६ शुक्रबार
mohan-basnet.jpg

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सरकारद्धारा भोटेकोशीमा आएको बाढीले बेपत्ता भएकाहरुको खोजी कार्य र उद्धार नगरिएको भन्दै आपत्ति जनाएका छन् । 

उनले आफूहरुले गम्भीर बिरामी सात जनाको उद्धार गरी काठमाडौंको अस्पतालमा ल्याए पनि सरकारी उपस्थिति नभएको भन्दै आपत्ति जनाएका हुन् । 

भोटेकोशीमा बुधबार राति आएको बाढीमा परी दुई जनाको ज्यान गएको छ भने २० जना अझै बेपत्ता छन् । 

सरकारका तर्फबाट सभामुख तथा सिन्धुपाल्चोक सांसद अग्नि सापकोटा हेलिकोप्टरमार्फत गएर हेलिकोप्टरमै फर्केको तर कुनै उद्धारको काम नभएको नेता बस्नेतले बताए । 

उनले सरकारीतर्फबाट केही प्रहरी र केही अधिकारीको उपस्थिति भए पनि उद्धारमा कुनै कदम अगाडि नबढाइएको बताए । 

बस्नेतले सास होस् वा लास होस् बेपत्ताहरुको खोजीमा सरकारले अग्रसरता देखाउनु पर्ने बताए । 

प्रमुख जिल्ला अधिकारीबाट आफूमाथि दुर्व्यवहार भएको भन्दै बस्नेतले हाम्राकुरासंग भने, ‘मौसमविद्हरुले पानी पर्छ भनेर पहिले नै जानकारी दिएका थिए । त्यो ठाउँ कमजोर भएकाले म आत्तिरहेको थिएँ । अस्तिको दिन नै म सिन्धुपाल्चोक पुगेको थिएँ । नभन्दै बाढीले घरहरु बगायो । मैले सिडियोलाई फोन गरेर गृहमन्त्रालयलाई हेलिकोप्टरका लागि आग्रह गरिदिनुस् भनें । उनले औपचारिकताका लागि एउटा इमेल पठाइदिनु भने । त्यसपछि उनले फोन नै स्वीच अफ गरेर बसे । पछि त मेरो नम्बर नै ब्लक गरेछन् ।’

उनले अगाडि भने, ‘मैले आफैले हेलिकोप्टर मगाएर सात जनालाई उद्धार गरी काठमाडौंको ह्याम्स अस्पतालमा उपचार गराइरहेको छु । म लगायत नेपाली कांग्रेसका नेताहरुले साथ दिनु भएको छ । सरकारले केही गरेन । यो भन्दा गैरजिम्मेवारी अरु के हुन सक्छ ।’

नेता बस्नेतले दुई पटक हेलिकोप्टरमा उद्धार गरी गम्भीर घाइतेहरुलाई अस्पताल ल्याएको बताए । उपचार गराइरहेकाहरु सबिना बस्नेत (तारा) सुवेश तामाङ्ग, माधवकृष्ण बस्नेत, फुलमाया तामाङ्ग, पेम्बालामु तामाङ्ग, बुद्धिमाया तामाङ्ग र ७ दिने बच्चा हुन् ।  

सिडियोले सहयोग नगरेका कारण बिरामीहरुलाई बिहानै अस्पताल ल्याउन नसकिएको गुनासो नेता बस्नेतको छ । 

उक्त क्षेत्र कमजोर बनोटमा बनेको र २०७२ सालको भूकम्पले थप क्षति गरेको उनको भनाइ छ । 

जुरेमा ६ वर्षअघि आएको पहिरोले समेत थुप्रैको ज्यान लिएको थियो । 



लोकप्रिय समाचार
नयाँ