काठमाडौं। केही दिनदेखि परेको अविरल वर्षा र बाढी पहिरोका कारण देशका विभिन्न स्थानमा धनजनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै नेपाल तरुण दलले सम्पूर्ण जिल्ला शाखाहरुलाई सजग र सक्रिय हुन निर्देशन दिएको छ।
तरुण दलको अध्यक्ष जितजङ्ग बस्नेतले एक विज्ञप्ति जारी गर्दै 'अविरल रुपमा वर्षा भई बाढी पहिरोको कारण केही दिनदेखि सिन्धुपाल्चोक, म्याग्दी, बझाङ, कास्की लगाएत ठाउँमा ठूलो जनधनको क्षति भएको र जल तथा मौसम विज्ञान विभागका अनुसार अझै केही दिन लगातार वर्षा हुने पुर्वानुमान गरिएको छ।
यस्तो समयमा खोला, नदी, नालाहरुमा पानीको बहाव बढ्ने र बाढी र पहिरोको जोखिम पनि उत्तिकै हुने सम्भावना रहन्छु भन्दै सम्पूर्ण जिल्लाका तरुणहरुलाई अपिल गर्दै विज्ञप्तिमा भनेका छन, 'यस्तो अवस्थामा आफ्नो जिल्ला, क्षेत्रमा हुनसक्ने विपद जोखिमको पुर्वानुमान गरी सचेत रहन र अरुलाई पनि सचेत गराउन, जोखिममा रहेका बस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न, उद्यार र राहत वितरण कार्यमा जुट्न जिल्ला एवं स्थानीय तहका सम्पूर्ण तरुण युवा साथीहरुलाई केन्द्रिय समिति निर्देशन गर्दछ।'
विज्ञप्तिमार्फत विपदको बेला कार्य गर्ने सुरक्षा निकाय, जिल्ला प्रशासन, स्थानीय तह, जनप्रतिनिधि, रेडक्रस लगाएतका सामाजिक संघ संस्थाहरु एवं मातृपार्टी र अन्य भातृसंगठनसंग पनि आवश्यक समन्वय सहकार्य गर्न निर्देशन गरिएको छ।