काठमाडौं। प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले सलह किरा फेरि नेपाल आउन सक्ने भन्दै सतर्कता अप्नाउन आग्रह गरेको छ। शुक्रबारदेखि आइतबारसम्मको पूर्व अनुमान गरेको केन्द्रले भारतको जयपुर र आग्राकोबीचमा धौषा भन्ने ठाउँमा सलकका ५ वटा झुण्डहरु रहेकोले ती झुण्डहरु हावाको बहावसँगै नेपाल प्रवेश गर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अप्नाउन आग्रह गरेको हो।
धौषा भन्ने ठाउँमा करिब ५ सय २५ हेक्टर क्षेत्रफलमा फैलिएका उक्त सलहका झुण्डहरु धौषाबाट हावाको बहावसँगै उत्तरपूर्व गंगानर, ग्वालियर हुँदै ३ दिनमा अल्लाहबाद पुग्ने अनुमान केन्द्रले गरेको छ ।
त्यस्तै राजस्थानको सिकर आसपासका क्षेत्रमा करीब ४ सय हेक्टर क्षेत्रफलमा फैलिएका ५ वटा झुण्डहरु चुरु हुँदै पूर्व र उत्तरतर्फ साहजाहाँपुर तथा सीतापुर क्षेत्रमा अगाडि बढ्न सक्ने पूर्वानुमान केन्द्रले गरेको छ । मौसम अनुकल भएको अवस्थामा राजस्थानको मरुभूमी (पश्चिम) तर्फ जानुपर्ने यी परिपक्व हुँदै गरेका झुण्डहरु हावाको बहावसँगै पूर्वउत्तरतर्फ लाग्न सक्ने पूर्वानुमान केन्द्रको छ । ‘पानी परेको बेला तथा रातीमा चलायमान नहुने भएको र हावाको बहावसँगै स्थानान्तरण गर्न सक्ने भएकोले उक्त झुण्डहरु नेपाल प्रवेश गर्न सक्ने सम्भावना समेत रहेको छ’ केन्द्रले गराएको जानकारीमा उल्लेख गरिएको छ ।
यस सम्बन्धमा जल तथा मौसम विज्ञान विभागसँग सहकार्य गरि पूर्वानुमान तथा निगरानी गर्ने कार्य समेत निरन्तर भइरहेको समेत केन्द्रले उल्लेख गरेको छ ।