काठमाडौं। असार १० गतेदेखि सुरु भएको नेपाल कम्युष्टि पार्टी (नेकपा)को स्थायी कमिटी बैठक शुक्रबार पनि एकाएक निर्धारित समयभन्दा एक घन्टा अघि मात्रै स्थगितको सूचना सार्वजनिक गरियो । बिहान ११ बजेका लागि तय भएको बैठक स्थगित भएको सूचना नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ र प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको ट्वीटमार्फत बाहिर आयो ।
पार्टीभित्र देखिएको मनमुटाब, बिग्रह र बिखण्डनको सम्भावनालाई लिएर दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पार्टी एकताकै पक्षमा भन्दै गत शनिबारदेखि छलफल जारी रहेको भन्दै स्थायी कमिटी बैठक नेकपाले टार्दै र सार्दै आएको छ ।
आज भने देशभर आएको बाढीपहिरो त्यसले जनधनको क्षति भएको विषयलाई कारणको रुपमा प्रस्तुत गर्दै आजको स्थायी कमिटी बैठकलाई साउन २ गतेसम्मका लागि सारिएको छ ।
देशमा गत माघ ९ गते पहिलो कोरोना संक्रमित देखिदा आँखा चिमेर बसेको नेकपा पार्टी र कानमा तेल हालेर सुतेको नेकपाको करिब दुई तिहाई बहुमतको सरकार देशमा लकडाउन गर्ने अवस्थासम्म पनि जागरुक बनेन ।
चैत ११ मा लकडाउन गरेर मुलुकको जनजीवन ठप्प र त्रसित हुँदा पनि चिन्तित बन्न नसकेको सरकार र सरकार सञ्चालक नेकपाको अकर्मन्यताका कारण आज देशभर कोरोना संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेको छ । ३५ जनाले ज्यान गुमाइसकेका छन्। दैनिक कम्तिमा चारदेखि पाँच सय संक्रमित थपिँदा र संक्रमण समुदायस्तरमै फैलने अवस्था आउँदा पनि जनताको जीउ धनप्रति संवेदनशील बन्न नसकेको नेकपा र उसको सरकार हरेक वर्ष झैँ आउने बाढी पहिरोलाई कारण देखाएर आफूभित्रको कचिंगललाई केही समय पर धकेल्ने ध्याउन्नमा देखिन्छ ।
बाढीपहिरोले जनधनको क्षति भएकोले राहत र उद्धारमा खटिन पार्टी पंक्तिलाई निर्देशन गरेर नेकपाले एकातिर जनताको सहानुभूति त अर्कोतिर सरकार र पार्टीबाट आफूलाई हटाउन गरिएको प्रयासलाई टार्ने कोसिस सत्तासिन प्रधानमन्त्री ओलीले गरेका होलान भने ओलीलाई सत्ताबाट हटाउने प्रयासमा जुटेका अध्यक्ष दाहालले पनि ‘जनताको पीडामा संवेदनशील भएको’ देखाएर जनताबाट पनि सहानुभूति मिल्ने र ‘चिनिया मन्त्र’को पनि पालना हुने दुईधारे चतुर्याईँ गर्न खोजेको प्रष्ट देखिएको छ ।
तर हरेकको हातमा सूचना पहुँच भएको एक्काइसौँ शताब्दीका जनताको माझमा हामी छौँ भन्ने कुरा पनि नेकपाका ‘महाजन’हरुले भुल्न नहुने विश्लेषण राजनीतिक वृत्तमा गरिन थालेको छ ।
स्थायी कमिटी चल्दा चल्दै केपी ओलीले आफ्नो नेतृत्वमा लिम्पियाधुरा, लिपुलेक र कालापानीको नक्सा ल्याएपछि पनि सत्ता संकट टर्न नसकेपछि भारतीय खुफिया एजेन्सी र केही नेताहरु आफूलाई सत्ताबाट हटाउन लागिरहेको अभिव्यक्ति दिएपछि ओलीको पद मात्रै धरापमा परेन पार्टी नै बिखण्डनको अवस्था सिर्जना भयो ।
त्यसोत हठात रुपमा केही समयअघि ओलीले दल विभाजन सम्बन्धि र संवैधानिकक परिषद सम्बन्धि ल्याएको अध्यादेशले पनि पार्टीमा ठूलै संसय र भूकम्प आएको थियो ।
हो, त्यतिबेला जुन तत्व र ताकत सक्रिय भएर नेकपाभित्रको समस्या टालटुल भएको थियो पछिल्लो अवस्थामा पनि त्यही तत्व अर्थात चीन सक्रिय भएपछि ओलीको मनोबल उच्च बनेको देखिन्छ ।
कुनै समय भारत निकट नेपाली नेतामध्येमा चिनिएका ओली एकाएक पार्टी र सरकारमा समस्या देखिएपछि चिनिया राजदूतलाई ‘हैसियत नाघेर’ नेकपाको पार्टी राजनीति व्यवस्थापनमा आमन्त्रण गर्न थालेका हुन । अध्यादेश ल्याउँदाको किचलो सामसुप पार्न होस वा पछिल्लो पटक भारतविरुद्धको अभिव्यक्ति, हठात रुपमा संसदको वर्षे अधिवेशन अन्त्य गरेर उब्जिएको संसयका कारण सरकार ढल्ने र पार्टी अध्यक्षबाट छोड्नुपर्ने अवस्थामा टेको लगाउन होस उनले पुनः चिनिया राजदूतलाई खुलम्खुल्ला आमन्त्रण गरेको विषय कतै छुपेको छैन ।
चिनियाँ राजदूत होउ यान्छीको सक्रियता कतिसम्म काम गर्यो भन्ने कुरा ‘केपी ओलीको राजीनामा भारतले होइन, मैले मागेको हुँ’ भन्दै ओलीलाई सत्ताच्युत गराएरै छाड्ने दौडमा निस्किएका प्रचण्डको निस्क्रियताले पनि देखिन्छ ।
त्यति मात्र होइन यान्छीको मन्त्रले प्रचण्डको पाइलामा पाइला मिलाएर हिँडेका नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतमहरुको ‘कम्पनी’मा समेत कतै न कतै दरार आएका अडकलबाजीहरु राजनीतिक बजारमा हुन थालेका छन ।
यो कुराको पुष्टि केले पनि गर्छ भने हिजोका दिनमा पार्टी र सत्ताबाट गलहत्याइएँ भने कहाँ जाने त भनेर पूर्व एमाले कार्यकर्तालाई अघि सारेर पूर्व पार्टी नेकपा एमाले ब्यूँताउने प्रक्रिया थालेका ओली अहिले आएर ‘कसैलाई पार्टी अध्यक्ष बन्नु छ भने महाधिवेशनसम्म कुर्नुपर्ने र प्रधानमन्त्री बन्नका लागि पाँच वर्ष पर्खनुपर्ने’ अभिव्यक्ति दिनसक्ने अवस्थामा पुगेका छन् ।
अध्यक्ष प्रचण्ड र माधवहरुबीचको भलाकुसारी पातलिनुले उनीहरुको अभियानमा कतै न कतै ‘गेर फसेको’ त प्रधानमन्त्रीको यो हुँकारले उनका पक्षमा ‘राम्रै’ भएको बुझन त्यति गाह्रो छैन ।
तर, नेपाली हुनुको हैसियत र एक स्वाभिमानी नेपालीको नजरबाट हेर्दा योभन्दा लज्जास्पद, गिरेको र दलाल राजनीतिको पराकाष्टा अर्को हुन सक्दैन भन्ने तथ्य यसले प्रस्तुत गरेको छ । त्यो किनभने आम नेपाली जनताले आफ्नो मताधिकारको प्रयोग गरेर सत्तामा पुर्याएका प्रधानमन्त्रीले नै कहिले ‘भारतले मलाई सत्ताबाट हटाउँदैछ’ भन्नु त नेपाल जनताले नै मानी दिएर पार्टी कहलिएका दलले नै एक सामान्य कर्मचारी राजदूतलाई पार्टी जोगाइदिन निमन्त्रणा गरेर ‘चिनिया राजदूतले नेकपाको पार्टी फुट र सत्ता जोगाइदिएको’ सन्देश प्रसारण गर्नु राष्ट्रिय लज्जाको विषय बनेको छ ।
नेकपा यतिबेला देशकै ठूलो दल मात्र होइन, करिब दुई तिहाइ बहुमतप्राप्त सरकारको नेतृत्वकर्ता पनि हो । उसले पाएको मत नेपाली जनताले दिएको बहुमुल्य दान हो । जनताको बहुमुल्य दानको अपमान गर्दै विदेशी कर्मचारीको इसारामा झुक्ने र लम्पसार हुने सन्देश दिएर राष्ट्रिय स्वाभिमानलाई नै निहुर्याउने हक नेकपालाई छैन ।
आफ्नै पार्टीको प्रक्रिया नमान्ने, सरकार भएर यति लामो महामारीको घाउमा मल्हम लगाउन नसक्ने अनि आज सामान्य विदेशी कर्मचारीको इसारामा बाढीपहिरोलाई कारण देखाएर नेपाली स्वाभिमानलाई अरुको हातमा सुम्पने लज्जास्पद सन्देश दिनु नेकपाकै लागि अहितकार हुनेछ ।
अहिले कुनै शक्तिले लगाइदिएको फेबिकलका भरमा आफू टिक्ने यही दलाल मानसिकतामा नेकपा अघि बढिरह्यो भने भोली नेपाली जनताको माझमा ‘नेकपा कुन चरीको नाम हो ?’ भन्ने अवस्था नआउला भन्न सकिन्न । नेकपालाई हेक्का होसः जनता जनार्दन हुन्।