नेपाली मुलका बिश्व चर्चित चेस खेलाडी जिएम अनिस गिरीसँग नेपाली खेलाडीले खेल्ने अवसर जुर्यो
प्रकाशित २०७७ असार २६ शुक्रबार
105
Shares
काठमाडौ । नेपाली मुलका बिश्व चर्चित चेस खेलाडी जिएम अनिस गिरीसँग नेपाली खेलाडीले खेल्ने अवसर जुरेको छ । नेपालका बुद्धिचाल खेलाडीहरुले विश्व वरियतामा उत्कृष्ट १० औं स्थानमा रहेका खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर प्राप्त गरेका छन ।
बिश्व चर्चित खेलाडी अनिसले नेपाल बरियतामा उत्कृष्ट रहेका ३० जना पुरुष तथा महिला खेलाडीहरुसगै एकै पटक छुट्टाछुट्टै बोर्डमा अनलाइन मार्फत खेल्नेछन् ।
यसरी अवसर पाउने खेलाडीहरुमा नेपाल च्याम्पियन पुरुषोत्तम चौंलागाई, पहिलो वरियताका खेलाडी विवेक लामा, फिडे मास्टर मनिष हमाल, महिला च्याम्पियन सुजना लोहनी लगायत टप रेटेड १५ जना, विभिन्न उमेर समुहका गरी १० जना र छैठौं राष्ट्रिय प्रतियोगिताका ५ जना महिला खेलाडी सहित ३० जना खेलाडीहरुले सहभागिता जनाउने छ । नेपाल बुद्धिचाल संघले श्रावण १ गते अनलाईन मार्फत प्रतियोगिता आयोजना गर्ने जनाइएको छ ।
अनलाईनबाट हुने खेलमा नेपाली बुद्धिचाल खेलाडीहरुले अनिससँग प्रतिस्पर्धा गर्न पाउनु भनेको बुद्धिचाल खेलको लागि यो प्रतियोगिता ठूलो उपलब्धी भएको नेपाल बुद्धिचाल संघका महसचिव हिराकाजी महर्जनले बताए । नेपाली खेलाडीको क्षमता विकास गर्ने उद्देश्यको साथ यो प्रतियोगिता आयोजना गरिएको बताइएको छ । खेल अनिस गिरीको युट्युब च्यानलमार्फत लाइभ हेर्न सकिने छ ।
अनिस गिरी नेपाली भएता पनि उनी नेदरल्याण्डको पीआर प्राप्त बासिन्दा हुन् । उनका बाबु संजय गिरी लामो समयदेखि नेदरल्याण्डमा बस्दै आएको र उनकी आमा भने रसियन हुन् । अनिस सन् २०१४ मा चौध वर्षकै उमेरमा नै ग्राण्डमास्टर बनेका कारण युवा ग्राण्डमास्टर भनेर बिश्वमा चर्चित बनेका थिए । उनी चार पटका डट च्याम्पियन हुन भने ओलमप्याडमा समेत नेदरल्याडबाट पाँच पटक सहभागि भइसकेका छन् ।
सन् २०१६ मा विश्व वरियतामा तेस्रो स्थान हासिल गरेका थिए भने सन् २०२० मा अन्तराष्ट्रिय बुद्धिचाल संघले गरेको वरियतामा ७ औं स्थान तल झर्दै १० स्थानमा पुगेका छन् । उनको फिडे रेटिङ २७६४ रहेको छ । उनी नेपाली मुलका भएपनि नेदरल्याण्डबाट प्रतिनिधित्व गर्दै खेलिरहेका छन् ।