arrow

बदमासी गर्ने गोयन्का सिमेन्ट र कमला रोलिङ स्टीलकको इजाजत रद्ध

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असार २६ शुक्रबार
nepal-standards-metrology-department-nsmd.jpg

काठमाडौं। मापदण्डमा बदमासी गर्ने गोयन्का सिमेन्ट उद्योग कारवाहीमा परेको छ। गुणस्तर तथा नापतौल विभागले गोयन्का सिमेन्ट उद्योगले सरकारी मापण्ड पालना नगरी बदमासी गरेको भन्दै कारवाही गरेको हो। गोयन्का सिमेन्ट उद्योगले सरकार मापदण्ड अनुसार सिमेन्टको उत्पादन तथा विक्री वितरण नगरेको भन्दै विभागले शुक्रबार उक्त उद्योगको इजाजत रद्द गरेको जानकारी दिएको छ। 

विभागका निर्देशक एवं सूचना अधिकारी संजिव कुमार ठाकुरले मापदण्ड विपरित सिमेन्ट उत्पादन तथा विक्री वितरण गरेकोले उद्योगको इजाजत रद्द गरेको जानकारी दिए। उनले दिएको जानकारी अनुसार सिमेन्टको ३ दिनको कम्प्रेसिभ स्ट्रेन्थको मान ११ एमपीए र ७ दिनको १८ एमपीए पाइएको हो । मापदण्ड अनुसार ३ दिनको कम्प्रेसिभ मान १६ एमपीए र ७ दिनको कम्प्रसिभ मान २२ एमपीए हुनु पर्छ।

विभागले अनुगमनको क्रममा संकलन गरेर ल्याएका नमुना परिक्षण गर्दा मापदण्ड अनुसार नपाइएपछि नेपाल गुणस्तर विनियमावली २०४० अनुसार इजाजत पत्र रद्द गरेको ठाकुरले जानकारी दिए।

त्यस्तै विभागले शुक्रबार नै कमला रोलिङ मिल्स स्टिललाई पनि कारवाही गरेको छ । विभागमा परिक्षणका लागि ल्याएको स्टिलको नमुनाको मापदण्ड नपुगेपछि उक्त स्टिलको पनि इजाजत रद्द गरिएको विभागले जानकारी दिएको छ।

सरकारी मापदण्ड अनुसार सल्फर र फस्फोरसको मान ०.०५५ प्रतिशत हुनुपर्छ । तर, सल्फरको मान ०.०६ प्रतिशत र फस्फोरसको मान ०.०५९  पाइएपछि विभागले कारवाही गरेको हो।

यसअघि विभागले अनुगमनको क्रममा मापण्ड विपरित पाइएका अग्नी सिमेन्ट, रिलायन्स सुपरटेक सिमेन्ट लगायतका उद्योगको इजाजत पत्र रद्द गरेको थियो।



लोकप्रिय समाचार
नयाँ