arrow

बैंकको व्याजदर घटाउने तथा पुनर्कर्जा दिने चेम्बरको मागलाई दोहोर्‍याए मलहोत्राले

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असार २७ शनिबार
dipak-malhotra1.jpg

काठमाडौं। नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष तथा आइएमएस ग्रुपका अध्यक्ष दिपक मलहोत्राले अहिलेको कोरोना संकटको बेला बैंकको व्याजदर घटाउने एवं पुनर्कर्जा तथा पुनर्संरचनाकोलागि आफूहरुले सरकारबाट अपेक्षा गरे पनि सरकारबाट भने आश्वासन मात्र पाएको बताएका छन्। 

अग्रपंक्तिमा काम गरेका पत्रकारहरुकोलागि नेपाल प्रेस युनियनले स्वास्थ्य सामग्री वितरण कार्यक्रममा बोल्दै मलहोत्राले सरकारले हुन्छ मात्र  भनेर आफूहरुको मागप्रति उदासिन दर्खिएको बताउँदै भने,‘ सरकार हाम्रो प्रस्ताव लागु गर्न उदासिन भएको देखिन्छ । खाली हुन्छ, हुन्छ मात्र भन्छ, काम गर्दैन ।’

देशको अथतन्त्र बलियो बनाउन उद्यमी, व्यावसाय क्षेत्रको महत्वपूर्ण योगदान रहेको र रहने उल्लेख गर्दै उनले भने, ‘ तर उद्यमी,व्यवसायी नै बाच्न नसक्ने अवस्था आएमा अर्थतन्त्र कसरी जोगिने ?’ 

अहिले आफूहरुले लगानी गरेको सबै उद्योग संकटमा रहेको बताउदै उनले भने, ‘ बैंकबाट ऋण लिएर संचालन गरेका उद्योग व्यवसायको सावा व्याज बुझाउन गाह्रो परेको छ । यस्तो बेला सरकारले व्याज दर घटाउन तथा पुनर्कर्जाको व्यवस्थाको समन्वय गर्नुपर्छ ।’

यो महामारीको महासंकटमा सबैजना टिक्ने र वाँच्ने उपाय गर्नुपर्ने मलहोत्राले बताए । बैंकहरुको नाफा घट्छ भन्ने नाममा उद्योगी व्यवसायीलाई कस्ने व्यवहारले बैंकले नाफा त कमाउलान तर उद्योग व्यवसाय चाहि बन्द हुने अवस्थामा पुग्ने बताए। 

उद्योग, व्यवसाय, बैङक, श्रमजिवी सबै सँगै टिक्ने गरि महामारीको समयको योजना बनाउनु पर्ने उनको सुझाव थियो।   



लोकप्रिय समाचार
नयाँ