झापा । चार दिनदेखिको लगातार वर्षाले झापा जिल्लाको जनजीवन प्रभावित बनेको छ । जिल्लाका विभिन्न स्थानमा जमिन कटान सुरु भएको छ साथै विभिन्न स्थानमा पाँच घर परिवार विस्थापित भएका छन् । कन्काइ नदिमा आएको बाढीले शनिबार शिवसताक्षी नगरपालिका १० सुकुम्बासी बस्तीका ४ घर परिवार विस्थापित भएका छन् । जस अन्तर्गत प्रेम उप्रेती, तारा लिम्बू, हरिमाया ऋषिदेव र लालु ऋषिदेको परिवार विस्थापित भएको हो ।
बाढीले घर बगाउन सुरु गरेपछि सशस्त्र प्रहरीको टोलीले उद्वार गरि उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको वडा अध्यक्ष कर्णबहादुर थापाले जानकारी दिएका छ्न् । यसअघि सोहि स्थानमा कन्काइ नदीले तीन परिवार विस्थापित भएका थिए।
अबिरल वर्षा भइरहेको सो स्थानका करिब १५ घर परिवार कटानको जोखिममा पर्ने रेडक्रस झापाका सभापति लोकराज ढकालले जानकारी दिए ।
त्यसैगरि स्थानीय बनियानी खोलाको बाढीले गौरीगञ्ज गाउँपालिका १ होक्लाबाडीमा रामजी मुर्मूको एक परिवार बिस्थापित भएको छ ।
उता मेचीनगरको निन्दा खोलामा आएको बाढीले मलामी घर बगाउन सुरु गरेको छ। कमल खोलाको बाढीले गौरीगञ्ज १ कुञ्जीबारी बजार र गौरादह नगरपालिका ९ को सीमा खोला कमलको झोलुङ्गे पुल उच्च जोखिममा परेको छ।
त्यसैगरी मेचीनगर ७ साबिक ज्यामिरगडी ८ र ९ को सीमानामा पर्ने पालिया पुल कटानमा परेको छ। रतुवा खोलाको बाढीले कमल गाउँपालिका ५,६ र ७ मा क्षति पुर्याएको छ।
कन्काइ नदीले तीव्र रुपमा जमिन कटान गरिरहेको छ। झापा जिल्लाका मेची, टाङ्टिङ, रतुवा, बिरिङ, कमल, किस्ने , बनियानी लगायतका खोला तथा नदीमा पानीको बहाब बढेको छ।
त्यसैगरी अबिरल बर्षासँगै आएको बाढीले बगाउँदा झापामा एक जनाको मृत्यु भएको छ । झापा गाउपालिका वडा नं ५ पुरानो सरणामतीका अन्दाजी ३५ बर्षका राजेश गणेश नामका ब्यक्ति बिरिङ खोलामा मलामी जाने क्रममा नुहाउँदै गर्दा खोलाले बगाएर बेपत्ता भएका थिए ।
साँझसम्म खोजी गर्दा उनलाई गाउँलेले मृत फेला पारेका छन् । उनको झापा गाउँपालिका ५ पुरानो सरणामती नजिकै बिरिङ नदिमा लास भेटिएको झापा गाउँपालिकाका अध्यक्ष जय नारायण शाहले जानकारी दिएका छ्न् । लास भेटिएको ठाउँमा प्रहरी पुगेर आवश्यक प्रकृया सुरु गरिसकेको अध्यक्ष साहले बताए ।