काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा शनिबार अप्रत्याशित नतिजाहरु बढी आएका छन् । उपाधि जितिसकेको लिभरपुलले घरेलु मैदानमा बर्नलीसंग १–१ गोलको बराबरी खेल्यो ।
लिभरपुलले अब म्यान्चेस्टर सिटीको रेकर्ड तोड्न बाँकी ३ खेल जित्नुपर्ने दवाव छ । सिटीले एकै सिजन १०० अंक ल्याएको थियो । लिभरपुलको ३५ खेलबाट ९३ अंक छ ।
एन्ड्रयु रोबर्टनसनले लिभरपुललाई र जे रोड्रिग्वेजले बर्नलीलाई गोल दिलाए ।
अर्को खेलमा सिटीले ब्राइटन एन्ड होभ आल्बियनलाई उसकै मैदानमा ५–० गोलले हराएको छ । रहिम स्टर्लिङले ह्याट्रिक गरे । गाब्रियल जिसस र बर्नार्डो सिल्भाले १–१ गोल गरे ।
जितपछि सिटीले दोस्रो स्थान पक्का गरेको छ ।
तेस्रो स्थनको चेल्सी पराजित भएको छ । अप्रत्याशित खेलेको चेल्सी शेफिल्ड युनाइटेडसंग उसकै मैदानमा ३–० गोलले हार्यो । यो हारले चेल्सीको तेस्रो स्थानमा रहेर लिग सकाउने सम्भावना कमजोर बनेको छ ।
चेल्सीको ३५ खेलबाट ६० अंक भएको छ । एक खेल कम खेलेका लेस्टर सिटीको ५९ तथा म्यान्चेस्टर युनाइटेडको ५८ अंक रहेको छ ।
वेष्टह्याम युनाइटेडसंग ४–० गोलले हारेपछि नर्विच सिटी रेलिगेशनमा पर्ने पहिलो टिम बनेको छ ।
नर्विचको २१ अंकमात्र छ । एस्टन भिल्लाको २७ तथा बर्नमाउथको २८ अंक छ । १७ स्थानको वाटफोर्डको ३४ अंक छ । तीन टिम रेलिगेशनमा पर्नेछन् ।