भक्तपुर । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण तीव्र रुपले फैलिरहेको छ । यस्तोमा विकासे खेतीका रुपमा धेरै कामहरु धमाधम भइरहेका छन् ।
त्यसले समाजमा पार्ने प्रभाव–असरबारे सरकारलाई पत्तो नै छैन । अझ यस्ता बेलामा कुनै आयोजना सम्पन्न हुँदा गरिने उद्घाटनको तामझाम सबैभन्दा खतरनाक मानिन्छ ।
सरकारले नै भनेको छ –सामाजिक दूरी कायम गरौं । सरकारले नै चैत ११ गतेदेखि लकडाउन लगाएको छ ।
तर त्यो उल्लंघन गर्ने काम सरकारले नै गरिरहेको पाउनु दुर्भाग्य हो । संघीय, प्रदेशदेखि स्थानीय सरकारले नियमको धज्जी उडाएका छन् ।
त्यस्तै भयो शनिबार । मध्यपुर थिमि नपा ४ अवस्थित दुई पोखरी मध्ये एउटा पोखरी पुन निर्माण सम्पन्न भएपछि शनिबार उद्घाटन कार्यक्रम भब्य गरियो ।
सरकारले कहीं पनि २५ जना बढी भेला हुन रोक लगाएको छ । तर मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले उद्घाटन गरेको उक्त कार्यक्रममा सरकारको नियम विपरीत जमभट भएको थियो ।
त्यतिमात्र हैन उद्घाटनपछि नगरप्रमुख श्रेष्ठले डुङ्गासमेत सयर गर्न भ्याए ।