काठमाडौं। नयाँ पेट्रोल पम्प सञ्चालनका लागि नेपाल आयल निगममा परेका १ हजार २५ आवेदन निगमले खारेज गरिदिएको जनाएको छ। पेट्रोल पम्प संचालनका लागि निगमले गत वर्ष वैशाख र भदौमा आवेदन माग गरेको थियो । निगमले आवेदन मागेपछि १ हजार २५ आवेदन पम्प संचालनका लागि परेका थिए।
तर, ती सबै निवेदन एकै स्थान विशेषमा एकिकृत हुने गरी परेकाले निगम सञ्चालक समितिको यही असार १६ गतेको निर्णयबाट निवेदन खारेज गरिएको निगमले जानकारी दिएको हो । निगमका अनुसार ती आवेदनहरु जनसँख्या, भुगोल र सवारी साधनको सँख्या एवं सडक जनघनत्वका आधारमा परेका नदेखिएकाले समेत ती आवेदन खारेज गरिएका हुन् । ‘समग्रमा नयाँ विक्रेताका लागि पर्न आएका निवेदनहरु जनसँख्या, भुगोल, सवारी साधनको सँख्या एवं सडक जनघनत्वका आधारमा परेका देखिँदैनन्’ निगमले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘निवेदनहरु एकै स्थान विशेषमा नै एकिकृत हुने गरी आएका छन्।’
त्यस्तै लागत लाभ, विद्यान निगमको भौतिक पूर्वाधार तथा जनशक्तिका हिसावले समेत उपयुक्त नदेखिएकाले ती आवेदन खारेज गरिएका निगमले जानकारी दिएको छ। निगमले माग गर्दा परेका धेरैजसो निवेदनहरु हाल पेट्रोल पम्प रहेकै स्थानमा संचालन गर्नका लागि परेका र त्यस्तो अवस्थामा नयाँ विक्रेता नियुक्त गर्न उपयुक्त नदेखिएकाले आवेदन खारेज गरिएका हुन्।
आवेदन खारेजी पछि निगमले निवदेकले निवेदन दर्ता गराउँदा लागेको दर्ता शुल्क समेत फिर्ता लैजान आग्रह गरेको छ । ‘रद्द भएका निवेदकहरुले निवेदन दर्ता गराउनु भएको निगमको सम्बन्धित कार्यालयमा सम्पर्क गरी जम्मा गरेको निवदेन शुल्क आवश्यक प्रक्रिया पुर्याए र फिर्ता लैजान हुन जानकारी गराउँदछौं’, निगमको विज्ञप्तिमा उल्लेख गरिएको छ।