हुम्ला खार्पुनाथ गाउँपालिका भित्रका सबै बिद्यालय साउन २ गतेबाट खोलिने
जनकबहादुर शाही,
प्रकाशित २०७७ असार २९ सोमबार
184
Shares
हुम्ला। सरकारले हुम्लालाई कोरोना भाइरसको संक्रमण मुक्त जिल्ला घोषणा गरेसंगै हुम्ला जिल्लाको मध्ये भागमा पर्ने खार्पुनाथ गाउँपालिकाले सामाजिक दुरी कायम गरि आफ्ना पालिकाभित्र हरेका सम्पुर्ण बिद्यालय खोल्ने निर्णय गरेको छ ।
कोरोनाको जोखिम घट्दै गएको निस्कर्षसहित खार्पुनाथमा रहेको सबै बिद्यालय आगामी साउन २ गतेबाट खोल्ने निर्णय भएको हो। गाउँपालिकाले कुनै विषम परिस्थिती नआए आगामी साउन २ गतेबाट सुरक्षा सावधानी अपनाएर विद्यालय खोल्ने निर्णय गरेको हो ।
खार्पुनाथ गाउँपालिकाका जनप्रतिनिधि, प्रधानाध्यापक र सरोकारवालासहित बसेको बैठकले यस्तो निर्णय गरेको गाउँपालिकाका प्रबक्ता भिमराज शाहीले बताए । कुनै विषम परिस्थिती आएन भने अथवा केन्द्र सरकारले कुनै नीति निर्देशन पठाएन भने साउन २ गतेबाट विद्यालय खोल्ने निर्णय भएको शाहीले जानकारी दिए ।
कोरोना भाइरसका कारण विद्यालय बन्द हुँदा विद्यार्थीको पठन पाठन ठप्प छ, यस्तो अवस्थामा अब विद्यालय खोलेर पढाई सञ्चालन गर्नुपर्ने सबैको सुझाव आएको छ । विद्यालयमा सुरक्षा सावधानी अपनाएर सामाजिक दुरी कायम गर्दै बिहान र दिउसो गरि दुई सिफ्टमा बिद्यालय खोल्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले बताए ।
गाउँपालिकाले कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा ब्यवस्थापनका लागि सबै वडामा रहेका विद्यालयका भवनलाई क्वारेन्टिनका रुपमा प्रयोग गरेको थियो । विद्यालय सञ्चालन हुनुभन्दा पहिले क्वारेन्टिनमा प्रयोग भएका सबै विद्यालयलाई सेनिटाइज गरेर मात्र बिद्यालय संचालन गर्ने अध्यक्ष रावलले बताए ।
खार्पुनाथ गाउँपालिका क्षेत्रमा १७ वटा वटा सामुदायिक विद्यालयहरु रहेका छन् । सरकारले हुम्लालाई कोरोना संक्रमण मुक्त जिल्लाका रुपमा घोषणा गरि सकेकाले देशमा पनि कोरोना संक्रमण घट्दै गएको हुँदा पूर्व तयारी स्वरुप साउन २ बाट विद्यालय खोल्ने निर्णय गरिएको भएपनि विद्यालय खोल्ने विषयमा केन्द्रबाट कुनै पनि परिपत्र नआएको शिक्षा विकास तथा समन्वय इकाई हुम्लाका प्रमुख बिष्णुबहादुर शाहीले बताए । विद्यालय खोल्ने विषयमा मन्त्रालय, विभागबाट कुनै त्यस्तो परिपत्र हामीलाई आएको छैन, तर जिल्लाका ७ वटा स्थानीय तहमा अहिले सम्म खार्पुनाथ गाउँपालिका बाहेक अन्य कुनै पनि स्थानिय तहले विद्यालय खोल्ने भन्ने कुनै जानकारी नगराएकोे प्रमुख शाहीले बताए ।