काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण रोकिएको क्रिकेट सम्भव भएको छ । पहिलो टेष्ट क्रिकेटमा वेष्ट इन्डिज विजयी भएको छ ।
वेष्ट इन्डिजले इंग्ल्यान्डलाई पराजित गरेको हो । साउथह्याम्पटनको एजेस बाउलमा आइतबार वेष्ट इन्डिजले घरेलु टोली इंग्ल्यान्डलाई ४ विकेटले पराजित गरेको हो ।
पाँचौँ दिन दोस्रो इनिङ्समा घरेलु टोली ३ सय १३ रनमा अलआउट भएपछि वेष्ट इन्डिजले २ सय रनको लक्ष्य पाएकामा ६ विकेट गुमाएर पुरा गर्यो ।
जेर्मानी ब्लाकवुडले ९५, रोस्टन चेसले ३७ तथा शेन डरिचले २० रन बनाए । कप्तान जासन होल्डर १४ रनमा नटआउट रहे ।
इंग्ल्यान्डका जोफ्रा आर्चरले ३ तथा कप्तान बेन स्टोक्सले २ विकेट लिए । यसअघि दोस्रो इनिङ्समा इंग्ल्यान्डको लागि ज्याक क्रलीले ७६ तथा डोम सिब्लीले ५० रन बनाए । यस्तै कप्तान बेन स्टोक्सले ४६ रन जोड्दा रोरी ब्रुन्सले ४२ रन जोडे ।
वेष्ट इन्डिजका शानोन गार्ब्रियलले ५ विकेट लिए । अल्जारी जोसेफ र रोस्टन चेसले २–२ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले पहिलो इनिङ्समा अलआउट हुँदै २ सय ४ रन जोडेको थियो ।
यस्तै वेष्ट इन्डिजले पहिलो इनिङ्समा अलआउट हुँदै ३ सय १८ रन बनाएको थियो । जितसँगै तीन खेलको सिरिजमा वेष्ट इन्डिजले १-० को अग्रता बनाएको छ ।
तीन खेलको सिरिजको दोस्रो टेष्ट बिहीबारबाट म्यानचेस्टरमा सुरु हुनेछ । इंग्ल्यान्डले पछिल्ला पाँच सिरिजका पहिलो खेल हार्दै आएको छ ।
यसअघि सन् २०१९ मा सेन्चुरियनमा दक्षिण अफ्रिकासंग, माउन्ट माउनगाउनइमा न्यूजिल्यान्डसंग, बर्मिङघममा अष्ट्रेलियासंग र ब्रिजटाउनमा वेष्ट इन्डिजसंग पराजित भएको थियो ।